Breaking

सदनका नालायिकी दृष्य : प्रचण्ड र रवि नै लुकीलुकी छिर्छन्, प्रतिपक्षलाई सैनिककै शैलीमा घेरा


केही दिन यता सङ्घीय संसद्को प्रतिनिधिसभामा देखिनु पर्ने सामान्य दृष्यहरूभन्दा ठीक विपरीतका दृष्य देखिरहेको छ । सदनमा माननीय ज्यूहरूबाट प्रस्तुत हर्कतले जनता लाज छोप्नु पर्ने अवस्थामा पुगेका छन् । नीति निर्माणको थलो हुनु पर्ने संसद्लाई जननिर्वाचित माननीयहरूले गाईजात्रा प्रदर्शनको थलो बनाएका छन् ।

सत्ता र प्रतिपक्षबीच बढेको तिक्तताले अहिले सदन दिनहुँ जसो गाई जात्रा प्रदर्शनको थलो जस्तै बनेको छ । सदनमा माननीय ज्यूहरूले देखाउने गतिविधिका कारण संसद् हो कि रणभूमि छुट्याउन मुस्किल पर्ने अवस्थामा पुगेको छ । सुरु गरौं सदनका पछिल्ला केही बैठकमा देखिएका तीन÷चार वटा दृष्यबाट ।
दृष्य नम्बर एक
यो जेठ ३ गते सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए पछि देखिएको दृष्य हो । जसमा सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले दोस्रो ठूलो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भौतिक रुपमै आक्रमण गर्न खोजिरहेको देखिन्छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीमाथि जाईलाग्दै गरेको दृष्यले माननीय ज्यूको छविलाई त धुमिल्याई दिएको छ नै संसदीय गरिमाको पनि धज्जी उडाएको छ ।
दृष्य नम्बर दुई
यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिँदै गर्दा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गर्दाको दृष्य हो । जसमा कांग्रेसका सांसदले मर्यादापालकलाई नै झम्टदै प्रधानमन्त्रीलाई रोष्ट्रममा जानबाट रोक्न खोजिरहेका छन् । प्रधानमन्त्रीलाई मर्यादापालकले रेकी हाल्दै रोष्ट्रमसम्म पु¥याएता पनि रोष्ट्रममा नै चार जना मर्यादापालकले सुरक्षा दिनु परेको यो दृष्य पनि एक फेर हेरौं ।

जन आन्दोलनताका बन्दुक बोकेर युद्धभूमिमा होमिएका हालका प्रधानमन्त्री प्रचण्डलाई संसद्मा नै असुरक्षित महसुस हुँदा चार जनाको सुरक्षा घेरामा बोल्नु पर्ने बाध्यता आयो ।
दृष्य नम्बर तीन
यो जेठ ८ गते मङ्गलबारका दिन कांग्रेस सांसद र मर्यादापालकबीच भएको धक्कामुक्कीको दृष्य हो । जसमा नीति निर्माणभन्दा पनि हुलदङ्गा गर्न नै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट सदन छिरेका माननीय राजु थापाले मर्यादापालकलाई बिरालोले मुसो झम्टे झै झम्टिरहेका छन् । वेल घेराउसम्म सामान्य नै मात्र सकिए पनि माननीय ज्यूहरूले सदनमा गरेको यो क्रियाकलाप संसदीय मूल्य र मान्यताविपरीत छ ।
दृष्य नम्बर चार
प्रधानमन्त्री प्रचण्डलाई चार जना मर्यादापालकले सुरक्षाको घेरामा राख्दा गृहमन्त्री रवि लामिछानेलाई झण्डै दोब्बर सात जना मर्यादापालकले रोष्ट्रममा सुरक्षा दिनु प¥यो । ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ फिर्ता लिन सभामुख देवराज घिमिरेले गृहमन्त्री लामछिानेलाई समय दिए पछि कांग्रेस झन् आक्रमक देखिएको थियो । प्रतिपक्षीको चर्को नाराबाजी र अवरोध छिचोलेरै भए पनि मर्यादापालकको चौघेरामा गृहमन्त्रीले विधेयक फिर्ता त लिन सफल भए । तर, यस्तो अभ्यासले संसदीय व्यवस्थाको उपहास गर्ने काम गरेको छ ।

सदनमा हुलदङ्गा यति धेरै बढेको छ कि उमेरले ७९ वर्ष पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा बजेट अधिवेशन सुरु भएदेखि नीति तथा कार्यक्रम प्रस्तुत भएको जेठ १ गते बाहेक सदनको कुनै पनि बैठकमा उपस्थित भएका छैनन् । उनी हुलदङ्गा गर्न र नारा लगाउँदै वेल घेराउमा जान सक्दैनन्, भने वेञ्चमा बस्ने कुरै आउँदैन । सत्ता र प्रतिपक्षीबीचको घम्साघम्सीले सदन मर्यादित बत्र सकिरहेको छैन । सत्ता पक्षले सदनको मर्यादालाई लत्याउँदै जबरजस्ती ब्यारेक शैलीबाट सदन सञ्चालन गरिरहेको प्रतिपक्षीको आरोप छ । विचार र सिद्धान्तकै द्वन्द्वात्मक थलो हुनुपर्ने सदन बाहुबलको थलो बनेको छ ।

संसदीय व्यवस्था सुरु भए देखिनै यही व्यवस्थाका लागि लडेका दलहरू नै यही व्यवस्थामा कुटाकुटको अवस्थामा छन् । चर्को नाराबाजी, धक्कामुक्कामै वेल घेराउ जस्ता दृष्य सदनमा सामान्य जस्तै भइसकेको छ । सदनमा प्रतिपक्षीले देखाएको ताण्डव र प्रतिपक्षीलाई पेलेरै जाने सत्तापक्षको बल मिच्याईं कहिलेसम्म चल्ने हो अनिश्चित बन्दै गर्दा नीति निर्माण र जनताको दैनिक जीवनयापनमा आई पर्ने समस्याको मुद्दा उठाउने थलोमा माननीय ज्यूहरूले मच्चाईरहेको रडाको र उदाङ्गो नाच हेर्न नेपाली जनता बाध्य छन् ।