काठमाडौँ – मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिनका लागि बिहान ११ बजे बस्ने भनिएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेपछि बैठक सुरु हुन नसकेको हो ।
सरकारको वैधतामा प्रश्न उठाउँदै अदालतमा मुद्दा विचाराधीन रहेको बेला विश्वासको मत लिन लागेको भन्दै कांग्रेस असन्तुष्ट छ । आजको प्रदेश सभा बैठकमा कांग्रेसले संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने जनाएको छ । यदि त्यसको बेवास्ता गरे प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस केन्द्रको पदाधिकारी बैठकको यही सन्देश लिएर नेता मीन विश्वकर्मा विराटनगर पुगेका छन् । उनले अनलाइनखबरसँग भने, ‘संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने भनिएको छ ।’संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गरेका थिए ।


प्रतिक्रिया