समाचार

संसदमा सधैँ सहकारीको हंगामा, कांग्रेस र रास्वपाको झगडा छुटेन, रविसँगै सदनमा अरुलाई पनि रोक (भिडियोसहित)


काठमाडौँ— सहकारीठगी प्रकरण जति जति पेचिलो बन्दै गएको छ उति नै संसद सञ्चालनमा गाँठो पर्दै गएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरुले संसदीय छानबिन समिति गठनको अडान नछाड्दा बुधबार बसेको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध भयो । बैठकको आकस्मिक समयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले धारणा राखे पनि त्यसपछिको कार्यसूचीमा बैठकले प्रवेश नै पाएन ।

संसदमा दलहरुबीचको जारी जुहारी र आ–आफ्नो अडानले प्रतिनिधिसभाको बुधबारको बैठक पनि अवरुद्ध भयो ।बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनु पर्ने माग राख्दै उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । आकस्मिक समयमा केही सांसदले आफ्ना धारणा राखे पनि त्यसपछिको कार्यसूची अघि बढ्न सकेन । प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरे।

यसअघि मंगलबारको बैठकमा पनि कांग्रेसका सांसदहरुले सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए। केही दिनदेखिसभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउन पटकपटक दलहरुसँग संवाद गरे पनि प्रमुख प्रतिपक्ष कांग्रेसले संसदीय छानबिन समिति गठनको अडान नछोड्दा गत्यारोध हट्न सकेको छैन ।बुधबारको बैठकमा सहकारी ठगी प्रकरणमा कांग्रेसले कसैलाई दोषी करार नगरेको बतायो । गृहमन्त्री ६ वटा सहकारी ठगी प्रकरणमा संलग्न रहेको र धेरै रकम अपचलन गरेको हुदाँ आफूहरु गृहमन्त्रीमाथि छानबिन समिति गठनको विषयमा अडिक रहेको कांग्रेससांसद रामहरि खतिवडाले बताए ।साथै उनले कसैलाई दण्ड र कसैलाई न्याय दिने भन्ने फैसला सुनाउने अधिकार सरकारलाई नभएको तर्क गरे ।

मंगलबारको बैठकमा बोल्न नपाएका रास्वपा सांसद मनिष झाले बुधबार भने बोल्न समय पाए ।उनले बिना प्रमाण गृहमन्त्री लामिछानेमाथिकांग्रेसले आरोप लगाएको भन्दै प्रमाण देखाउन चुनौती दिए । आफ्नो पार्टीका सभापतिसमेत रहेकालामिछानेको बचाउमा उत्रिएका उनले २०४७साल पछिका सबै फाइल खोलिनु पर्ने प्रस्ताव गर्दै गृहमन्त्रीमाथि नियोजित हमला भएको तर्क गरे ।

सदन र सडकमा नै रास्वपाको विरोधमा रहेको राप्रपाले तल्काल गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएको छ । राप्रपाका प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले तत्काल रविमाथि छानबिन गर्दै सत्यतथ्य पत्ता लगाउन माग गरे । साथै राप्रपाले मंगलबार काठमाडौंमो गरेको जनप्रदर्शनमा प्रहरीले आफूहरुमाथि दमन गरेको भन्दै उनले गृहमन्त्री लामिछानेको चर्को आलोचना गरे । गृहमन्त्रीको आदेशमा आफूमाथि प्रहरीबाट कुटपिटसमेत भएको भन्दै उनले आक्रोश पोखे ।

सत्ताको प्रमुख दल माओवादी भने रविको मात्र नभई प्रधानमन्त्रीकोसमेत बचाउमा उत्रियो । प्रधानमन्त्री दाहालले रविको बचाउ नगरेको र प्रमाण नभेटेकाले कारबाहीका लागि अगाडि बढ्न नसकेको माओवादी सांसद माधव सामकोटाले कांग्रेसलाई जवाफ फर्काए ।

सदनमा जनजीविकाको आवाज उठान गर्नुपर्ने सांसदहरु दैनिक जसो एकअर्कामाथि आरोपप्रत्यारोपमा उत्रिरहेका छन् । संसद चल्नु पर्छ भन्ने विषयमा प्रतिपक्षी दलसमेत सकारात्मक रहेपनि संसदीय छानबिन समिति गठनको मागमा अडिक छ । यता सत्तारुढ दलहरु समिति गठनमा सहमत नहुँदा पछिल्ला केही दिनयता सदन सांसदहरुको बाझाबाझ गर्ने थलो बन्दै आइरहेको छ । बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले मात्र नभई राप्रपा र लोसपाका सांसदलेसमेत विरोध गरे । सभामुखले बैठकको कार्यसूचीमा प्रवेश गराउन धेरै पहल गर्दा पनि सांसदहरु उठेर विरोध जनाएपछि संसद बैठक २०८१ सालबैशाख २ गते ११ बजेसम्मका लागिस्थगित भएको छ ।