Breaking

प्रचण्डको गफले जनता वाक्क, मन्त्री फेर्दा पनि फेरिएन कार्यशैली, पद छाड्ने कहिले ?(भिडियोसहित)


काठमाडौँ— तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताका लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए । तर, सत्तासमिकरण परिवर्तन र भागबण्डामै प्रधानमन्त्रीे प्रचण्डले समय गुजारिरहेका छन् । कामबाटै जवाफ दिने बताएका प्रचण्ड भाषणमै सीमित बनेका छन् ।

कांग्रेससहितको गठबन्धनबाट निर्वाचन जितेपछि प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको शरणमा पुगे । सत्ता गठबन्धन भत्काउन बाटो कुरेर बसेका एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरे । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा बसेपछि प्रचण्डले देश र जनताको लागि काम गर्ने प्रतिवद्धता जनाए । सामाजिक न्याय, सुशासन र समृद्धिको भाषण प्रचण्डले दैनिक गर्दै आएका छन् । तर, व्यवहारमा जनताले अनुभूति गर्न पाएका छैनन् ।

प्रचण्डले प्रतिवद्धता अनुसार जनतालाई सेवा होइन, आफ्नो कमजोरी लुकाउन सत्ता समिकरण फेर्दै आएका छन् । कांग्रेस, एमाले, फेरि कांग्रेस र फेरि एमालेसँग सत्ता समिकरण अदलबदल गर्दै आएका प्रचण्डको समय सत्तासमिकरण परिवर्तन र भागबन्डामै बितिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई आफ्नै मन्त्रीले समेत टेर्न छाडेका छन् । मन्त्रीहरूको रिपोर्ट कार्ड लिने निर्णयमा पुगेका प्रचण्डलाई अहिले त्यही निर्णय गलपासो बनेको छ । हरेक क्षेत्र राजनीतिकरण, व्यथिति र भ्रष्टाचारमा चुर्लुममा डुबेको छ । प्रधानमन्त्री प्रचण्ड भाषणमा रमाइरहेका छन् । देश र जनता भन्ने कुरा मात्रै बनेको छ । उद्देश्य भने कसरी सत्तामा टिकिरहने भन्ने छ । राजनीतिक नेतृत्व देश र जनताप्रति इमान्दार नबन्दासम्म परिवर्तन सम्भव छैन ।

प्रधानमन्त्रीसहित केही मन्त्री राजनीतिक स्टन्टमा छन् । प्रमुख सत्तारुढ दल एमालेका मन्त्रीहरू गुमराहमा छन् । रास्वपाका मन्त्री विवादित बनेका छन् । माओवादी, एकीकृत समाजवादी र जसपाका मन्त्रीहरू कहाँ छन् भनेर खोज्नुपर्ने अवस्था छ । काम गर्न सत्ता समिकरण फेरेको बताउने प्रचण्डले औचित्य पुष्टि गर्न सकेका छैनन् । जनजीविकाको विषयमा सिन्को पनि भाँच्न नसकेको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको भाषणबाट जनता दिक्क भएका छन् । आफुलाई नयाँ दाबी गर्दै रास्वपाले मन्त्री विवादित बन्दा छानबिनको बाटो खोलेर नयाँ राजनीतिक संस्कार देखाउन सकेको छैन । जनजीविकाको विषय उठाउनुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको रटान लगाउदै आएको छ ।

सरकारमाथि संसद र सदनमा समेत दबाब बढ्दै गएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सडक आन्दोलन नै थालिरहेको छ । सत्तामा हुँदा ढाकछोप र प्रतिपक्षमा हुँदा आक्रोश नेपाली राजनीतिमा नयाँ विषय होइन । निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता सत्तामा पुगेपछि भुसुक्कै बिर्सने राजनीतिक महारोग नयाँ–पुराना सबै दलमा देखिन्छ । ‘काले–काले मिलेर खाउँ भाले’को अवस्था सिर्जना भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

तेस्रो कार्यकाल सम्हाल्दै गर्दा प्रधानमन्त्री प्रचण्डमा केही गर्ने हुटहुटी देखिएको थियो । तर, समय बित्दै जाँदा ती सबै भन्नका लागि हुन् भन्ने पुष्टि हुँदै आएको छ । बहुरंगी दलहरू मिलेको गठबन्धनमा सबै दललाई चित्त बुझाएर काम गर्न सजिलो छैन । त्यहीमाथि विभिन्न काण्डमा डामिएका आफ्नै पार्टीका नेताहरू बचाउनुपर्ने बाध्यताले प्रधानमन्त्री प्रचण्ड बदनाम बनेका छन् । यही अवस्था कायम रहिरहे नयाँ सत्ता समीकरण पनि जनताका लागि हात्ती आयो हात्ती आयो फुस्स भनेजस्तै हुने छ ।