Breaking

ओली–प्रचण्ड भागबन्डामै लफडा, देउवा मिसिए, मुख्यमन्त्री खोज्दै जनार्दनको धम्की, कहाँ पर्‍यो गाँठो ?(भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— केन्द्रमा सहज रुपमा भागबण्डा टुंग्याएको सत्ता गठबन्धनले प्रदेशमा भने अझै भागबण्डा छिनोफाने गर्न सकेको छैन । उपनिर्वाचन र प्रदेश भागबण्डाको विषयमा एक मत कायम गर्न नसकेको गठबन्धनको पेचिलो समस्या बन्दै जाँदा गठबन्धनको भविष्यमा नै सङ्कट पैदा हुने देखिएको छ ।

साझा धारणा बनाएर अघि बढ्ने भन्दै गठन भएको सत्ता गठबन्धनभित्र भागबण्डाको विषय पेचिलो बनेको छ । कम्तीमा कम्युनिस्टहरू मात्रै भए पनि एक ढिक्का हुने सङ्कल्प गरेता पनि नजिकिँदै गरेको उपनिर्वाचन र प्रदेशमा बत्रे सरकारको नेतृत्व कसले गर्ने भत्रे विषयले महिना दिन पनि नपुग्दै सत्ता गठबन्धन दलहरूबीचको छटपटी सतहमा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा एक्लै भिड्ने घोषणा पहिल्यैदेखि गर्दै आएको थियो । केन्द्रमा पाउने भागबण्डा पाइसकेको र प्रदेशमा सामेल नै नभएको रास्वपाले यसबाट आफूलाई अछुतो राखेको छ ।

बाँकी दलहरू भने उपनिर्वाचनमा उम्मेदवारदेखि मुख्यतः प्रदेशको नेतृत्वका लागि दौडधुप गरिरहेका छन् । सात प्रदेशमध्ये कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा पुरानै समीकरणबाट बनेको नेपाली कांग्रेसका मुख्यमन्त्रीहरू छन् भने, नेकपा माओवादी केन्द्रले बाग्मती र कर्णालीको सत्ता चलाइरहेको छ । त्यस्तै बाँकी रहेको मधेशमा जनता समाजवादी पार्टीको नेतृत्व छ । जसमा जसपाले यसपटक पनि आफ्नो दाबी छोडेको छैन । बाग्मती र कर्णालीमा भएको आफ्नो नेतृत्वलाई कायम नै राख्ने र थप लुम्बिनीमा पनि माओवादीले नै नेतृत्व पाउनु पर्ने उसको दाबी छ । जनार्दन शर्माले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कर्णाली प्रदेश छोड्न नहुने बताउँदै आएका छन् । त्यतिमात्रै होइन कर्णालीलाई आफ्नै भागमा पार्न सिंगो कर्णालीमा राजनीति गर्ने टोली नै राजधानी धाइरहेको छ ।

त्यस्तै कोशी नै सर्वप्रिय बनेको एमालेको गण्डकी र माओवादीले छोड्दै नछोड्ने कर्णालीमा मन गएको छ । यता, एमालेका महासचिव शङ्कर पोखरेलले माओवादीले नै दाबी गरेको लुम्बिनीमा पनि आँखा गाडिरहेका छन् । केन्द्रको भागबण्डामा सहजीकरण गर्दै ठूला मालदार मन्त्रालय अन्य दललाई सुम्पिएको एमालेले आफूले रोजेकै प्रदेश पाउनु पर्ने लाइनमा छ । कोशी प्रदेश हत्याउनलाई कानुनी छिद्रा केलाइरहेको एमाले र माओवादीको रोजाईंमा एउटै पर्दा प्रदेशमा हलो अड्किने हो कि भत्रे शङ्का गर्ने ठाउँ दिएको छ ।

कसैले पनि आँखा नलगाएको सुदूरपश्चिमको नेतृत्व गर्न प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिसकेका छन् । एमाले र माओवादीको रोजाईंको प्रदेश एउटै छ । तर, दुई पार्टीको दाबी नै छ वटा प्रदेशमा र मधेशमा जसपा पछि नहट्ने अवस्था रहेको हुँदा माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीको हात यसपटक पनि खाली हुने देखिन्छ । त्यसैले एक ढिक्का भएर अघि बढ्ने भनेको गठबन्धनमा २५ दिनको अवधि हुँदै गर्दा कुरा बाझिसकेको छ ।

यता, कांग्रेस गण्डकी, बाग्मती र सुदूरपश्चिममा साना दललाई मिलाएर आफ्नै सरकार बनाउने तरखरमा छ । गण्डकीमा नेपाल समाजवादी पार्टीका सांसदलाई आफ्नो पक्षमा पारिसकेको कांग्रेसले दीपक मनाङ्गेलाई पनि फकाउँदै छ । बाग्मतीमा हामी नेपाली पार्टीका सांसदलाई लोभ्याई रहेको छ भने सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको सहयोग खोजिरहेको छ । साना दललाई लिएर आफ्नै पार्टीबाट मुख्यमन्त्री बनाउने कसरतमा रहेको कांग्रेस प्रदेशको भागबण्डा नमिल्दा वा यसले निकास नपाउँदा गठबन्धन आफैँ फुट्ने दाबी गरिरहेको छ ।

एमाले र एकीकृत समाजवादीले उपनिर्वाचनमा एक्लाएक्लै लड्ने संकेत गरिसकेको छ । माओवादी पनि आफ्नो उम्मेदवारको खोजीमा नै छ । उपनिर्वाचनको उम्मेदवारको विषयमा पनि गठबन्धनले एक मत कायम गर्न सकेको छैन । त्रिपक्षीय माया बसेको गठबन्धनभित्र उपनिर्वाचन र प्रदेशलाई लिएर सकस पर्दा भागबण्डाकै कारण यी मुद्दा पेचिलो बनेको छ ।