राजनीति

चौतर्फी घेराबन्दीमा प्रचण्ड, दागी मन्त्री नै हाबी, देउवाको ‘इग्नोर’मा ओलीको ढाडस (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— गठबन्धनको भरथेगमा सत्ता सम्हालेको १४ महिना बित्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी घेराबन्दीमा छन् । सडकदेखि सदनसम्मै विरोध नै विरोधको सामना गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई अहिले पार्टीकै नेताहरुले पेल्न थालेका छन । कसैगरी सत्ता टिकाउने ध्याउन्नमा रहेका प्रचण्डले सडक र सदनको सकसलाई सुल्झाउन सक्लान् ?

प्रतिपक्ष दलको धम्की, संसदको ठूलो दल भएकै कारण सत्ता साझेदार कांग्रेसको हेपाई त छँदैछ सत्ता साझेदार साना दलकोसमेत घुर्की खेप्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्रीत्व कालको १४ महिना बिताए । १४ महिना बित्दै गर्दा संसदमा प्रतिपक्ष, सडकमा व्यवस्था विरोधी र न्याय माग्न संघीय राजधानी काठमाडौं आएका मिटर ब्याज तथा लघुवित्त पीडितको निसानामा प्रधानमन्त्री प्रचण्ड छन् । चौतर्फी विरोध र घेराबन्दीमा परेका प्रधानमन्त्री प्रचण्डले संसद र सिंहदरबार लाइलनको डोरीले जोगाए पनि बालुवाटारमा कतिन्जेल जोगिने हुन् ? अहिले नै यसै भन्न सकिने अवस्था छैन ।
लघुवित्त, मिटरब्याजपीडितहरू निरन्तर प्रदशर्नमै छन् । सरकारले गत वर्ष नै मिटरब्याजपीडितका लागि कानुन मात्र बनाएन, उच्चस्तरीय आयोग गठन गरेर न्यायिक निरुपणको प्रयास नै थाले पनि उक्त समस्या समधान हुन सकेको छैन । मिटरब्याज र लघुवित्त पीडितकै भरमा दुर्गा प्रसाईं जस्ता पात्रहरुको आन्दोलन जारी नै छ । सहकारी पीडितहरुको समस्या अझै सुल्झिएको छैन । राजावादीहरु व्यवस्था नै बदल्ने भन्दै सडक आन्दोलनमा छन् । यी बाहेक पनि अनेक मागसहित सडकमा आउनेको जमात बढ्दो छ ।

राजेन्द्र लिङदेन नेतृृत्वको राप्रपाले ४० बुँदे मागसहित सडक आन्दोलन गरिरहेको छ । ठूला भ्रष्टाचार प्रकरण, सुशासन, राजनीतिक अराजकताविरुद्ध प्रतिपक्ष एमाले पनि सडक आन्दोलनको तयारीमा छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित प्रतिपक्ष कित्ता सदनमा सरकारको विरोधमा छ । मुलत राजनीतिक वेथितिविरुद्ध आफूहरुले उठाएको प्रश्नको जवाफ र विवादित मन्त्रीहरुको राजीनामा माग्दै प्रतिपक्षले सदनमा दिनहुँ जसो नाराबाजी गर्दै आएको छ । प्रधानमन्त्रीको तेस्रो इनिङ सुरु गर्दैगर्दा सदनमा सर्वाधिक बहुमत पाएका प्रचण्ड अहिले सदनमा एक्लो वर बनेका छन् । उनले न त सदनमा जवाफ दिन सकेका छन्, न त मन्त्री फेर्न नै । सांसदहरुको विरोध र अल्टिमेटम, सभामुखको रुलिङका कारण सदनमा सरकार संकटमा छ । ठूला भ्रष्टाचार प्रकरण र काण्डहरुमा मुछिएका मन्त्रीहरुको राजीनामालाई प्रतिपक्षले अल्टिमेटमसहित दबाब दिएपछि सदन निरन्तर अवरोध हुँदै आएको छ ।

प्रतिपक्ष कित्ता मात्र होइन सत्तारुढ दलकै सांसदहरुले समेत सरकारको तीव्र आलोचना गरिरहेका छन् । फलतः निरीह प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षको स्वार्थले सदनको कार्यतालिका नै लथालिङ बनेको छ । सदन एक प्रकारले बन्धक बनेको छ । सत्ता साझेदार कांग्रेसले नमान्दा प्रधानमन्त्री प्रचण्ड मन्त्री फेरबदल गर्न असफल भएका छन् । मन्त्री फेर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा नै बाधक बनेका छन् । गठबन्धनभित्र सहमति नजुट्दा प्रचण्डमाथिको पेलान निरन्तर बढ्दो रुपमा छ ।

गठबन्धनकै नेताहरुले प्रचण्डलाई पत्याउन छाडेका छन् । गठबन्धनमा सन्तुलन कायम गर्न थप सकसको अवस्था छ । अर्कोतर्फ माओवादीभित्रै प्रचण्ड घेर्ने दस्ता बढ्दै गएको छ । चुनावी गठबन्धन गरेको कांग्रेसलाई धोका दिएर ओलीको साथले सत्तारोहण गरेका प्रचण्ड अहिले पुनः ओली कार्ड प्रयोग गर्दै देउवा गलाउने रणनीतिमा लागेका छन् । तथापि, तत्काल संकट सुल्झाउन प्रधानमन्त्री प्रचण्डका लागि सहज भने छैन ।