राजनीति

हिन्दुधर्मले वारपारमा काँग्रेस, देउवाको इशारामा २२ नेताको मोर्चाबन्दी, पश्चिमा र भारतको भिडन्त (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— कांग्रेसको फागुन सात गतेदेखि ११ गतेसम्म चल्ने महासमिति बैठकमा हिन्दु धर्मलाई मूल एजेण्डा बनाउन पार्टीभित्रका हिन्दूवादी नेताहरु लागि परेका छन् । पटक–पटक धर्मको बहसलाई बेवास्ता गर्दै आएको महासमिति बैठकमा यसपटक भने जसरी भए पनि छलफल गराउने तर्फ उनीहरू लागि परेकाछन् । नेताहरू नेतृत्वलाई दबाव दिन अभियान नै चलाएर अघि बढिरहँदा महासमिति बैठकमा धर्मबारे ठूलै बहस हुने देखिन्छ ।

नेपाली कांग्रेस भित्र, महासमिति बैठकको संघारमा हिन्दू धर्मको बहस पेचिलो बन्दै गएको छ ।पार्टीभित्र होस् वा बाहिर वैदिक सनतान हिन्दु धर्मको विषयले माहोल पुरै गर्मराएको छ । स्वर्गीय नेता खुमबहादुर खड्काको लिगेसीलाई पछ्याईरहेका कांग्रेसी नेताहरू अभियान नै संचालन गरेर, धर्मको मुद्धा छेड्ने लाईनमा छन् । महासमिति बैठक बस्नु अघि केन्द्रीय सदस्यको बैठकमा उपसभापति पुर्णबहादुर खड्काले नीति र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्रमशः सांगठनिक र समसामयिक राजनीतिक विषयमा प्रतिवेदश पेश गरिसकेका छन् । तर, उपसभापति र महामन्त्री द्धयको प्रतिवदेनमा कँही पनि हिन्दू धर्मको विषय उल्लेख भएको छैन । हिन्दु राष्ट्र महाअभियान घोषणा नै गरेर अघि बढेको
पार्टीभित्रका नेताहरूले लगत्तै कांग्रेसमा सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै २२ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरि बुझाएका छन् ।

शंकर भण्डारीको नेतृत्वमा केन्द्रीय सदस्यहरूले बुझाएको पुरक प्रस्तावमा बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा ल्याउन दबाव दिईएको छ । जस अनुरुप शनिबार कार्यक्रम नै गरि सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान नै घोषणा गरिएको छ । पार्टी नेतृत्व पनि सकारात्मक देखिएको र सबै धर्मलाई सम्मान गर्दै पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन सापेक्ष हिन्दु राष्ट्र बनाउन कांग्रेस भित्रका केही नेता अभियान नै लिएर अघि बढेकाछन् ।
२०६४ मा संविधान जारी भएसँगै हिन्दु राष्ट्र हटेर एका एक धर्म निरपेक्ष बनेको नेपालमा धर्म निरपेक्षताको एजेण्डा कसरी र कहाँबाट आयो तत्कालिन सांसद् नै अनभिज्ञ छन् । धर्मनिरपेक्षलाई न तत्कालिन समयमा सशस्त्र गतिविधिमा रहेको माओवादीले आफ्नो एजेण्डा बनाएको थियो न त दिल्लीमा भएको १२ बुँदे सम्झौतामा नै यो कुरा समावेश थियो । रातारात विदेशीको इसारामा धर्म निरपेक्षमा परिवर्तन भएको नेपालमा अहिले पनि बाहिरी मुलकले नै खेल्न खोजेको आवाज उठिरहेको छ । विशेषतः छिमेकी मुलुक भारत हिन्दू पक्षधर्ता पार्टी भाजपा शक्तिशाली भईरहेको अवस्थामा त्यसकै आडमा पुनः नेपाललाई हिन्दू राष्ट्र बनाउन खोजेको आरोप लाग्ने गरेको छ । तर, महासमितिको सम्मुखमा संविधानले स्वीकार गरेको बहुधार्मिक, बहुसाँस्कृतिक र बहुजातीय समाज रहेका देशमा हिन्दू राष्ट्रलाई संरक्षकको रुपमा राख्नु पर्ने दृष्टिकोण कांग्रेसभित्रका हिन्दूवादी नेताहरूको छ । जुनसुकै अधिनायकवादबाट मुक्त भएको नेपालको पहिचान नै हिन्दु राष्ट्र भएकाले पछिल्लो केही दशक देखि त्यो गुमिरहेको हुँदा पुनः त्यसको उत्थान गर्न पार्टीभित्रका केही तप्काहरू लागिपरेका छन् । त्यसैले यो अन्य कुनै देशको प्रभावमा भन्दा पनि आफ्नो मौलिकता बचाउन आवश्यक रहेको पार्टी नेताको तर्क छ ।

विगतमा यसअघि भएका दुईवटा महासमिति बैठकमा पनि महासमिति सदस्यहरूले हस्ताक्षर संकलन गरेर बुझाएकै थिए । तर, कुनै सुनुवाई नै भएको थिएन । यद्यपि, युवापुस्ताको आधार स्तम्भ नै हिन्दूत्व हुने दाबी गरिरहेका कांग्रेसी नेताहरू यसपटक महासमिति बैठकमा हिन्दू राष्ट्रको प्रस्ताव लान तम्तयार भएर बसेका छन् । तर, अघि बढेको कांग्रेस पुनः पुरानै गतिमा फर्कन नसक्ने भत्रे पक्ष पनि पार्टीभित्र छ । अझ नेतृत्वमा बसेकाहरू नै यसबारे अनिच्छुक देखिँदा यसपटकको महासमिति बैठकमा पनि हिन्दू धर्मको एजेण्डा हुन्छ हुँदैन अनिश्चित छ । यदि यसपटक पनि विगतका वर्षहरूमा झै बहुमतको अवमूल्यन गर्दै अघि बढ्न खोजे पार्टी नै सकिने कांग्रेसी नेता ठोकुवा गर्छन् ।

कांग्रेसमा हिन्दू धर्मको विषय पेचिलो बनिरहँदा महासमितिको बैठकमा एजेण्डा बन्छ वा बन्दैन त्यो नै अन्योल छ । उपसभापति र दुई महामन्त्रीले तयार पारेको प्रतिवेदनमा हिन्दू धर्मलाई बेवास्ता गर्दा केही तप्काहरू भने अभियान नै सञ्चालन गरेर पार्टी नेतृत्वलाई दबाव दिईरहेका छन् । केही महिना अघि देउवाले नै ‘धर्म निरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिने’ अर्थपूर्ण अभिव्यक्ति दिएपछि हौसिएका पार्टीभित्रका हिन्दूवादी नेताहरू हस्ताक्षर संकलनमा अधिकांश नेताहरू देउवा पक्षकै छन् । पार्टी सभापति नै यो विषयमा सकारात्मक देखिनु र नेतृत्वकै पक्षका अधिकांश नेताहरू पनि धर्मबारे खुलेरै लाग्नुले यस पटक महासमिति बैठकमा धर्मको बहस चर्कने निश्चित छ ।