Breaking

जंगली जनावरबाट हुने क्षति घटाउन भरतपुरमा मेसजाली निर्माण सुरु


काठमाडौँ— बन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई कम गर्न चितवनको भरतपुर महानगरपालिकाले मध्यवर्ती क्षेत्रमा मेसजाली अर्थात पर्खालसहितको तारबार लगाउन सुरु गरेको छ ।

महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा नं. २३, २४, २७ र २८ का मेस जाली निर्माणको काम थालेको हो ।

वन्यजन्तु बढि प्रवेश गर्ने क्षेत्रको पहिचान गरी पहिलो चरणमा ३ किलोमिटरमा मेसजाली लगाउन थालिएको महानगरले जनाएको छ ।

महानगर प्रमुख रेनु दाहालले मेसजाली निर्माणको शुभारम्भ गर्दै वस्तीमा हुने मानवीय क्षति र अन्नपातको क्षतिलाई कम गराउन मेसजाली महत्वपूर्ण हुने बताइन् ।

उनले संघ र महानगरको २/२ करोड गरी ४ करोड रुपैयाँको परियोजना अन्तर्गत पहिलो चरणमा २ करोड ७९ लाखको काम सुरु भएको बताइन् । उनले छुटेको ठाउँमा सर्वे गरेर नयाँ टेण्डर गरिने बताइन् । मानव र बन्यजन्तु बीचको द्वन्द्वलाई कम गराउन मेसजालीले सहयोग पुग्ने विश्वास लिएको उनको भनाइ छ ।

प्रमुख दाहालले भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको बताइन् । सबैभन्दा बढि जोखिम भएका र मानवीय क्षतिसमेत भैरहका वडाबाट महानगरले मेसजालीको काम थालेको हो ।

वन क्षेत्र नजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उतिकै जोखिम रहेको भए पनि नारायणी र राप्तीको तटबन्धन निर्माण भएसँगै यहाँको प्रमुख समस्याहरु समधान भएर जाने विश्वास महानगरले लिएको नगर प्रमुख दाहालको भनाइ छ ।

मेसजाली निर्माणको कार्यका लागि ४ वटा वडाको दक्षिणतर्फ जंगलको सिमानामा २ करोड ७९ लाख २ हजार ४७ रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

गोले सनसाइन जेभी सुकेधारा काठमाडौंले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का लिएको हो । पश्चिम चितवनका तटिय क्षेत्रसँग जोडिएको वस्तीमा हात्ती, गैँडा, बदेललगायतका जनवारले वर्षेनी जनधनको क्षति पुर्‍याउँदै आएको छ ।