Breaking

च्याउजस्ता विश्वविद्यालय, काम नलाग्ने कार्यकर्ता VC, प्रचण्ड र हर्कको हुटहुटीले देला निकास ? (भिडियोसहित)


काठमाडौँ— मुलुककै पुरानो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय बेहाल अवस्थामा छ । पछि थपिएका नयाँ–पुराना सबै विश्वविद्यालय राजनीतिक भागबण्डाका कारण लथालिङ्ग छन् । तर विश्वविद्यालय सुर्धान न त सरकार गम्भीर छ न त सरोकारवालाकै ध्यान जान सकेको छ । प्राज्ञिक अनुसन्धान र ज्ञानको थलो विश्वविद्यालयभित्रको बेथिति पहिला रोकिएला कि विश्वविद्यालय नै बन्द हुने त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

यो दृश्यले नेपालमा प्राज्ञिक र ज्ञानको थलोको अवस्था कस्तो छ थप छर्लङ पारेको छ । हो यो दृश्य मंगलवार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हो । जहाँ केहि थान विद्यार्थी, संगठनको बलमा उपकुलपति र प्रतिष्ठानका पदाधिकारीमाथि नै जाइलाग्छन् । प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीदेखि प्रतिष्ठानका पदाधिकारीलाई कालोमोसो दल्न अग्रसर भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । संघीय राजधानीमा रहेको पाटन मल्टिपल क्याम्पसमा, विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका कारण पठनपाठन अवरुद्ध भएपछि पठनपाठन सुचारु गर्न माग गर्दै विद्यार्थी नै प्रदर्शनमा उत्रिएका छन् । अन्य क्याम्पसहरुको पनि हालत उस्तै छ ।


अपवादबाहेक अधिकांश क्याम्पसहरुमा पढाई कम राजनीति हावी हुँदा विद्यार्थीहरुको पढाई नै प्रभावित हुने गरेको छ । पढ्ने विद्यार्थी होस् या क्याम्पस र विश्वविद्यालयका पदाधिकारी सबै अध्ययन अध्यापनभन्दा राजनीतिक सक्रियतामा व्यस्त बन्दा विश्वविद्यालयको गुणस्तर खस्किँदो छ । फलत उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको गन्तव्य विदेश बन्न थालेको छ । गत वर्ष एक लाख १२ हजार ७ जनाले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिएकामा २०२३ मा १ लाख ६७ हजार ४ सय ८५ विद्यार्थी अध्ययनका लागि बाहिरिएको तथ्याङ्क छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको ५ महिनामा मात्रै विदेशमा पढ्न जानेहरूले ४७ अर्ब ३५ करोड रुपैयाँ लगेका छन् । गत वर्षको ५ महिनामा विदेश पढ्न जानेहरूमार्फत २८ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको थियो । यो तथ्यांकले स्वेदशमै अध्ययनका लागि विद्यार्थीमा जागेको वितृष्णालाई स्पष्ट गर्छ । साथै विद्यार्थीहरुको पलायनले सरकार चिन्तित छ ।

विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्नुपर्नेमा सरकारको जोड छ । तर उही भाषणमा मात्र, अध्ययन र अवसर खोज्दै विदेश जान बाध्य विद्यार्थीलाई स्वदेशमै राख्ने आधार के छ ? मुलुककै जेठो त्रिवि विद्यार्थी विहीन हुने अवस्थामा पुगेको छ । अन्य विश्वविद्यालयहरुको अवस्था पनि त्रिविभन्दा कम नाजुक छैन । सिंगो शिक्षा क्षेत्रको पुनर्संरचनाको बहस उत्कर्षमा छ तर सरकार विश्वविद्यालयहरुमा नेतृत्व छान्न असफल बनेको छ । विश्वविद्यालयबाट परिवर्तनको ब्रेक थ्रू गर्ने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यत्तिका महिना बित्दासमेत उपकुलपति चयन गर्न सकिरहेका छैनन् । विश्वविद्यालयहरुमा मौलाएको चरम राजनीतिक बेथितिको अन्त्य गर्नुपर्ने तर्क जानकारहरुको छ ।

राजनीतिक बेथितिका कारण बेहाल बनेको विश्वविद्यालय प्रति विद्यार्थीको आकर्षण घट्दो रुपमा छ । ठूलो संख्यामा विद्यार्थीहरुको विदेश पलायनले विश्वविद्यालयहरु नै बन्द हुने त होइनन् शंकाको सुविधा प्रशस्त छ । विश्व विद्यालयलाई राजनीति मुक्त राख्न कुलपतिबाट प्रधानमन्त्री नै हट्नु पर्ने विषयले पनि शैक्षिक बहस छेडिएको छ । लामो समयपछि शैक्षिक कानुन निर्माणका लागि विभिन्न विधेयकहरु छलफलमै छन् । सरकारको इच्छा शक्ति भए शिक्षा क्षेत्रको सुधार असम्भव छैन तर राजनीतिकरणलाई टाढा राख्न अपरिहार्य नै बन्दै गएको छ । विश्वका उत्कृष्ट विद्यालयको सूचीमा पर्ने त्रिविलगायतका विश्वविद्यालयको विरासत फर्काउन सरकारले चाँडोभन्दा चाँडो नयाँ शैक्षिक नीति अवलम्बन गर्न जरुरी रहेको विज्ञको सुझाव छ ।