Breaking

गगनको निर्विरोध चाहनामा ब्रेक, गुरुले नै दिए टक्कर, देउवा खेमाको षड्यन्त्र, के आउँला परिणाम ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा यतिबेला नयाँ नेतृत्व चयनका लागि तीव्र रस्साकस्सी चलिरहेको छ । पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म आकांक्षीहरूको उल्लेख्य सहभागिता देखिएको छ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा कुल ८ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ७९ जनाले पदाधिकारीमा र ७ सय ३० जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । पार्टी नेतृत्व चयनमा देखिएको सहभागिताले महाधिवेशन प्रक्रियालाई थप रोचक बनाएको छ । वर्तमान सभापति गगनकुमार थापा जारी महाधिवेशनबाट पुनः निर्विरोध निर्वाचित हुने चर्चा चले पनि अन्य दुई जनाको उम्मेदवारी परेपछि चुनावी प्रतिस्पर्धा अनिवार्य बनेको थियो । जसमा कांग्रेसका पुराना नेता तथा थापाका गुरुसमेत रहेका श्यामकृष्ण खड्गी र देउवा पक्षबाट आएका किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिएका थिए । तर, बुधबार राठौरले सभापतिमा थापालाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै अब चुनावी मैदानमा थापा र खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ; अर्थात् सभापतिका लागि अब ‘गुरु र चेला’ आमनेसामने हुने भएका छन् । योसँगै सभापतिमा निर्विरोध हुने गगनको चाहनामा भने ब्रेक लागेको छ । देउवा समूह छाडेर केही समयअघि मात्र संस्थापनतिर लागेका राठौरको उम्मेदवारी घोषणाले पार्टीभित्र ठूलो तरंग पैदा गरेको थियो । उनलाई केन्द्रमा आउन रोक्नकै लागि सभापति थापाले दुईवटा क्षेत्रीय अधिवेशन रोकेको आरोपसमेत लागेको थियो