Breaking

रवि–बालेन टप्ने गगनको खाका, प्रतिवेदनबाटै कांग्रेसको कायापलट, ओली–प्रचण्डसँग सहकार्य नगर्ने (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चहलपहलले संघीय राजधानी काठमाडौं यतिबेला महाधिवेशनमय बनेको छ । पार्टीको नीति, नेतृत्व र आगामी दिशानिर्देश तय गर्न सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू मैदानमा उत्रिएका छन् । विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका गगनकुमार थापा फेरि सभापतिमा निश्चित जस्तै देखिँदा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका लागि भने आकांक्षीहरूको ठूलै लर्को लागेको छ । देशको परिवर्तित राजनीतिक परिदृश्यका बीच कांग्रेसभित्र गगन थापाले छेडेको विद्रोहलाई पार्टी रूपान्तरण गरी नयाँ शिराबाट अघि बढाउने ऐतिहासिक कदमका रूपमा व्याख्या गरिएको छ । त्यसैले पनि यो महाधिवेशनलाई राजनीतिक र सार्वजनिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । यसैबीच, सभापति थापाले आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार केन्द्रीय कार्यसमितिबाट पारित भएको प्रतिवेदनलाई सभापति थापाले बन्दसत्रमा पेस गरेका हुन् । ४६ पृष्ठ लामो प्रतिवेदनमा आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको छ ।