Breaking

जेनजीको एक्लो भरोसा बालेन, भूमिका नै रहस्यमय, कतै देखिँदैनन्, भेट्दैनन् सहिद परिवार (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपालको राजनीतिक इतिहासमा गत वर्षको भदौ २३ को त्यो दिन केवल एउटा आन्दोलनको सुरुवात मात्र थिएन, एउटा पुरानो राजनीतिक पुस्ताको बर्हिगमन पनि थियो । त्यही जेनजी आन्दोलनले काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहलाई देशको प्रधानमन्त्री बन्ने बाटो खनिदियो, सत्ता र शक्ति दुवै दियो । तर, तिनै जेनजी शहीदका नाममा श्रद्धाञ्जलीको एक शब्दसमेत खर्चिन उनले आवश्यक ठानेनन् । आन्दोलनको एक वर्ष पुगै दिन जेनजी शहीदको स्मृति दिवसमा प्रधानमन्त्री शाह कतै देखिएनन् । श्रद्धाञ्जली दिनबाट पन्छिनुदेखि स्मृति दिवसमै नदेखिनुसम्मका परिदृश्यले एउटा पेचिलो राजनीतिक प्रश्न जन्माएको छ— जेनजी आन्दोलनमा बालेन शाहको वास्तविक भूमिका आखिर के थियो ? के बालेन त्यो आन्दोलनका नेता थिए ? यसको सीधा उत्तर हो— प्रत्यक्ष रूपमा थिएनन् । त्यसो भए जसको रगतको जगमा उनी सत्तामा पुगे, तिनै शहीदको स्मृतिमा प्रधानमन्त्री शाह आज कहाँ छन् ? यो प्रश्न सडकदेखि सामाजिक सञ्जालसम्म चर्को रूपमा उठिरहेको छ ।