देश

रसुवा बाढी : सेनाको तथ्यांक यस्तो, सुरुङको अन्तिमसम्मै छिचोल्ने दाबी, पीडित परिवारले मार्दैछन् आश (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार अहिले सबैभन्दा चुनौतीपूर्ण बनेको छ । देश भरका घरघरमा उज्यालो पु¥याउन कार्यक्षेत्रमा खटिएका ती पौरखी हातहरू त्रिशूलीका अँध्यारा सुरुङभित्र टुकीको मात्रै भए पनि उज्यालो पर्खिरहेका छन् । विभिन्न अस्पताल बाहिर सयौँ परिवार ‘हाम्रो मान्छे कहाँ छ ?’ भन्ने एउटै प्रश्न लिएर छटपटाइरहेका छन् । तर, सन्नाटाबीच सुरुङबाट एकाध सुनिने आवाजले अझै पनि जीवनको आशा मर्न दिएको छैन । त्रिशूली करिडोरमा एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना सञ्चालनमा छन् । अहिलेसम्म सुरुङबाट तीन जनाको जीवितै उद्धार गरिएको छ । त्रिशूली थ्री ‘ए’ बाट सञ्जय साह र कबिर महर्जन तथा त्रिशूली १ बाट एक जना चिनियाँ नागरिकलाई जीवितै बाहिर निकालिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सुरुङभित्र फसेका ९८३ जना सम्पर्कविहीन भएको दाबी गरेको छ । तर, नेपाली सेनाले भने भोटेकोशीको बाढीले ११ जलविद्युत् आयोजनामा क्षति पु¥याएको र ती आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाली सेनाले जलविद्युत् आयोजनाका सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य जारी रहने पनि स्पष्ट पारेको छ ।