Breaking

प्रचण्डको दाबी : बालेन सरकारको दुर्घटनाको खोजी, रवि च्यापेर नयाँ षड्यन्त्र ? किन छटपटाउँदै छन् ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीचको दूरी निरन्तर बढिरहेको छ । निर्वाचनअघि र निर्वाचनको परिणामपछि पनि बालेनप्रति सकारात्मक सुनिँदै आएका प्रचण्ड सरकार गठन भएको पाँच महिनामै दैनिकजसो कार्यकारीको आलोचनामा उत्रिएका छन् । प्रधानमन्त्रीसँगको असन्तुष्टि चुलिँदै जाँदा बालेनका कमी–कमजोरी औँल्याउँदै प्रचण्डले सरकारको कार्यशैलीप्रति प्रश्नैप्रश्न तेस्र्याउन कुनै बाँकी राखेका छैनन् । भोटेकोशी बाढीमा सरकारले ‘हिरोइजम’ देखाएको आरोप लगाएका पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारको गतिविधि बचपनापूर्ण भएको र यसरी देश नचल्ने भन्दै कडा टिप्पणी गरेका छन् । आइतबार पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा विनाशकारी बाढीको समीक्षा गर्दै प्रचण्डले पीडित नागरिकको खोजी, उद्धार र राहतमा सरकारले इमानदारीता नदेखाउँदा समग्र संयन्त्र नै असफल भएको जिकिर गरे । प्रधानमन्त्रीको काम बिहान–बेलुका सामाजिक सञ्जालमा स्टाटस लेख्ने र गृहमन्त्री सुधन गुरुङ सुरुङ कोट्याउनमै सीमित देखिएको भन्दै प्रचण्डले सुरुङमा फसेका नागरिकहरूको उद्धार गर्न तत्कालै छिमेकी तथा मित्रराष्ट्रहरूसँग प्राविधिक सहयोग मागेको भए धेरैको ज्यान जोगिन सक्ने दाबी यसअघि पनि गर्दै आएका थिए ।