देश

बालेन : इतिहासकै ठूलो विपत्ति, सरकार चुकेको छैन, प्रचण्ड र ज्ञानेन्द्रको काउन्टर, झुट कतिन्जेल टिक्छ ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– भोटेकोशी बाढीले ल्याएको वितण्डापछि सरकारमाथि चौतर्फी प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाटै पहिलो चोटि सम्बोधन गर्दै ‘यो पीडा रसुवा, नुवाकोट अथवा धादिङको मात्र होइन, सिंगो नेपालीको छातीमा परेको बज्रपात भएको’ बताए । उनले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको र मन भक्कानिँदा पनि एकआपसमा विलौना गर्ने समय नरहेको समेत बताए । संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत र आडभरोसा दिनुपर्छ भन्ने यथार्थलाई सरकारले स्वीकारेको उनले बताए । सरकार दृढ संकल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको अर्को विकल्प नरहेको र लडिरहेको पनि उनले बताए ।