काठमाडौं– अकल्पनीय रूपमा भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षतिसँगै देशकै विकासको गतिलाई दशक पछाडि धकेलिदिएको छ । रसुवागढी नेपालको उत्तरी सीमामा रहेको प्रमुख व्यापारिक नाका मात्र होइन, पछिल्ला वर्षहरूमा यो चीनसँगको व्यापार, जलविद्युत्, रोजगारी र धार्मिक पर्यटन गरी ठूलो आर्थिक गतिविधि हुने महत्त्वपूर्ण केन्द्र हो । तर भदौ १० को बाढीले यी सबै क्षेत्रमा वर्षौंसम्म उठ्न नसक्ने गरी नराम्रो धक्का लागेको छ ।
१. तीन जिल्लामा बाढी, ७७ जिल्ला शोकमा
भदौ १० गते बिहान रसुवागढीको व्यापारिक नाका भत्काउँदै अघि बढेको भोटेकोशीको वेग यति डरलाग्दो थियो कि यसले रसुवा, नुवाकोट र धादिङ मात्र होइन, देशका सातै प्रदेशका ७७ वटै जिल्लालाई शोकमा डुबाएको छ । यति मात्रै कहाँ हो र, यो बाढीले विश्वका ३३ देशलाई पनि पीडाको जाँतोमा पिसेको छ । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी मृत्यु भएका १ हजारभन्दा बढीको शव फेला परेको छ भने करिब ४ हजार मानिस हराइरहेका छन् । प्रभावितमध्ये कोही मजदुर थिए, कोही जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक र इन्जिनियर, कोही व्यापारी, चालक वा सामान ढुवानी गर्ने कामदार थिए । कतिपय तीर्थयात्री थिए, जो गोसाइँकुण्ड र मानसरोवरतर्फ जाने यात्रामा थिए । उनीहरू कतिपय नेपाली थिए भने कति विदेशी ।


प्रतिक्रिया