Breaking

विपद्मा बालेनको सक्रियता, नतिजा नआउँदा रिसाए, मन्त्रीसँगै असन्तुष्ट, प्रहरी र सेनालाई निर्देशन (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न सङ्कट समाधानका विषयमा सोमबार एकै दिन तीन सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख नारायणदत्त पौडेलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा छुट्टाछुट्टै ब्रिफिङ लिएका हुन् । सरकारको आलोचना बढेपछि प्रधानमन्त्री शाहले उद्धार र राहत कार्य चुस्त बनाउन निर्देशन नै दिएका छन् । यसअघि बाढी आएलगत्तै खोजी, उद्धार र राहतका लागि सबै सुरक्षा निकायलाई तत्काल परिचालन गरेका प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाएर काम थालेका थिए । उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका ६ सहित निजी गरी १२ वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ परिचालन गर्दै मेडिकल टिम, स्काउट र रेडक्रस सबैसँग समन्वय गर्दै आवश्यकताअनुसार जनशक्ति परिचालन पनि गरियो । बाढीको पहिलो दिन नै प्राधिकरणसँगै राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठक डाकेर प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनासम्मका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका शाह दोस्रो दिन आफैँ उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रभावित जिल्ला नुवाकोटको विदुर पुगे । बिहीबार कुल १३ हजार २ सय ९५ जना परिचालन गरिएको सुरक्षाकर्मीको सङ्ख्या त्यसपछि प्रत्येक दिन बढाउँदै शुक्रबार १५ हजार ४ सय ३१, शनिबार १८ हजार ७ सय ८ र आइतबार २० हजार ६ सय १८ लाई खोजी, उद्धार र राहतका लागि खटाइएको थियो । सोमबार पार्टी सभापति रवि लामिछानेसँगको भेटमा पनि प्रधानमन्त्री शाहले सरकारी संयन्त्र पूर्ण रूपमा परिचालित भएको विषय स्पष्ट पारेका थिए ।