समाचार

आकाश टेक Nepal Tech Roadshow 2026 का लागि यूके र युरोप जाँदै

योहो संवाददाता

काठमाडौं – नेपाली प्रविधि कम्पनीका लागि अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रस्तुत गर्ने र विश्वव्यापी साझेदारीको खोजी गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नास-आईटी नेपाल टेक रोडशो यूके एन्ड युरोप २०२६ मा डिजिटल कम्युनिकेशन कम्पनी आकाश टेक सहभागी हुने भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले आयोजना गर्ने रोडशो अन्तर्गत बेलायतमा सेप्टेम्बर ६ देखि १२ सम्म विभिन्न कार्यक्रम तथा व्यावसायिक भेटघाट हुनेछन् ।

नास- आईटीका अनुसार रोडशोको मुख्य उद्देश्य नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै व्यापारिक साझेदारी, लगानी, आउटसोर्सिङ अवसर र प्रविधि सहकार्यका लागि नयाँ बाटो खोल्नु हो । बेलायततर्फको कार्यक्रमले नेपालका प्रविधि कम्पनीलाई यूकेका व्यवसाय, लगानीकर्ता तथा इनोभेसन इकोसिस्टमसँग जोड्ने र नेपाली टेक्नोलोजी इकोसिस्टमलाई युरोपेली आउटसोर्सिङ पार्टनर्स, प्रोडक्ट इन्जिनियरिङ टिम्स तथा इन्भेस्टर्ससँग जोड्ने लक्ष्य राखेको छ ।

आकाश टेकले उक्त रोडशोमा विश्वबजारलाई लक्षित गरी तयार पारिएको एआई पावर्ड बिजनेस कम्युनिकेशन एन्ड कस्टमर इन्गेजमेन्ट प्लेटफर्म, टेल्भान्टा वन ब्रेन (Telvanta One Brain) प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय व्यवसाय तथा सम्भावित साझेदारसँग संवाद गर्ने जनाएको छ ।

आकाश टेकका भाइस प्रेसिडेन्ट राजन कोईरालाका अनुसार आकाश टेकले रोडशोलाई एकतर्फी प्रोडक्ट शोकेस भन्दा पनि बिजनेस -टु-बिजनेस कनेक्सन र नलेज एक्सचेन्ज को अवसरका रूपमा लिएको जनाएको छ । कम्पनीका प्रतिनिधिहरूले सम्भावित साझेदार, व्यवसाय तथा लगानीकर्तासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका व्यावसायिक आवश्यकता, प्रविधिसम्बन्धी चुनौती र सम्भावित सहकार्यका क्षेत्रबारे छलफल गर्नेछन् ।

रोडशोको यूके कार्यक्रम सेप्टेम्बर ६ देखि १२ सम्म सञ्चालन हुनेछ । नास- आईटीको आधिकारिक कार्यक्रमअनुसार यस अवधिमा इन्भेस्टर इन्गेजमेन्ट, बीटुबी मिटिड्स, इकोसिस्टम भिजिट्स तथा नेपाल टेक रोडशोसहित विभिन्न गतिविधि हुनेछन् । सेप्टेम्बर ९ मा हुने मुख्य नेपाल टेक रोडशो मा टेक्नोलोजी कम्पनीज्, इन्भेस्टर्स, गभर्नमेन्ट रिप्रेजेन्टेटिभ्स तथा इकोसिस्टम लिडर्स को सहभागिता रहनेछ ।

त्यसपछि, आकाश टेकसहितको नेपाली प्रविधि प्रतिनिधिमण्डल स्विट्जरल्यान्डतर्फ जानेछ, जहाँ सेप्टेम्बर १३ देखि २१ सम्म नेपाल टेक रोडशो युरोप २०२६ अन्तर्गत कार्यक्रमहरू सञ्चालन हुनेछन् । स्विट्जरल्यान्ड संस्करणले विशेषगरी युरोपेली व्यवसाय, आउटसोर्सिङ पार्टनर्स, प्रोडक्ट इन्जिनियरिङ टिम्स तथा इन्भेस्टर्स सँग नेपाली प्रविधि क्षेत्रको सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ ।