देश

गौँथलीको रेकर्ड ब्रेक, करोडौँको व्यापार, नयाँ स्टार जन्मायो, भोला रिजालको सपना छोराले पूरा गरे (भिडियोसहित)

योहो संवाददाता

काठमाडोैं– २०५८ सालमा आफ्नी श्रीमतीको जीवनसंघर्षबाट प्रभावित भएर तयार पारिएको एक सामाजिक कथा हो— ‘गौँथली’ । जुन कथालाई नेपाली समाजको परिवेशमा आधारित महिला शिक्षा, बालविवाह, सामाजिक विभेद र मानवीय सम्बन्धलाई समेटेर गीतिकथानक चलचित्रका रूपमा सार्वजनिक गरिएको थियो । त्यो बेला त्यति चर्चा कमाउन नसकेको उक्त कथा अहिले २५ वर्षपछि नेपाली चलचित्र क्षेत्रमा नयाँ मानक स्थापना गर्न सफल भएको छ । २५ वर्षअघि वरिष्ठ चिकित्सक डा. भोला रिजालले आफ्नी श्रीमती सरला रिजालको जीवनीबाट प्रभावित भएर तयार पारेको गीति चलचित्रको कथालाई उनकै छोरा डा. कपिल रिजालले फिचर फिल्मको रुपमा निर्माण गरेको ‘गौँथली’ले अहिले रेकर्डतोड प्रदर्शन गरिरहेको छ । यही साउन २१ गतेदेखि देशैभर प्रदर्शनमा आएको गौँथली तेस्रो सातासम्म आइपुग्दा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने सातौँ नेपाली चलचित्र बनेको छ । यस वर्षको अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको ‘गौँथली’ले शुक्रबार मध्याह्नसम्म देशव्यापी १६ करोड ७८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । योसँगै छक्कापञ्जा १, २ र ५, कोहिनुर, महाजात्रा, र ‘आ’ देखि ‘आमा’ जस्ता सफल चलचित्रलाई उछिन्दै यो चलचित्र अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको सूचीको सातौँ नम्बरमा पर्न सफल भएको हो । रिलिजको तेस्रो हप्तामा प्रवेश गरिसकेको यो चलचित्रको रफ्तार भने रोकिएको छैन; फिल्म हलहरूमा ‘गौँथली’ हेर्नेहरूको संख्या अझै बढ्दो क्रममा छ । यदि यो गति कायमै रहेमा यो फिल्मले अझै थप कीर्तिमानी कमाइ गर्ने आकलन गरिएको छ ।