मनोरञ्जन

नेपाल स्रष्टा समाजले गर्यो काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम


काठमाण्डौं । नेपाल स्रष्टा समाज, बागमती प्रदेश र तदर्थ समितिको संयुक्त आयोजनामा टोखा नगरपालिका–१ स्थित झोर महांकाल माध्यमिक विद्यालयमा काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमको सभापतित्व नेपाल स्रष्टा समाज, बागमती प्रदेशका संयोजक रविन्द्र आशिष शैलीले गरेका थिए ।

उनले विद्यार्थीहरूलाई कवितामार्फत आफ्ना भावना र दृष्टिकोण व्यक्त गर्न प्रेरित गर्दै साहित्यिक गतिविधिको निरन्तरताको प्रतिबद्धता पनि व्यक्त गरेका छन् । संयोजक रविन्द्र आशिष शैलीले यस्ता कार्यक्रमले साहित्य र शिक्षा दुवैलाई प्रवद्र्धन गर्ने भन्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका सहप्रधानाध्यापक रमेश अधिकारीले विद्यालयको अवस्था र विद्यार्थीहरूको शैक्षिक अवस्थाबारे जानकारी गराउदै स्वयंले पनि कविता वाचन गरेका थिए ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । नेपाल स्रष्टा समाज, बागमती प्रदेश तथा तदर्थ समितिका सचिव हरिकृष्ण धितालले संचालन गरेको कार्यक्रमले साहित्यिक चेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा आत्मविश्वास र सृजनात्मक क्षमताको विकासमा सकारात्मक प्रभाव पारेको सहभागीहरूको मूल्याङ्कन रहेको छ ।