अन्तर्राष्ट्रिय

ट्रम्पलाई आप्रवासी भारी पर्दै, लस एन्जलसको आन्दोलन रोक्न सेनालाई नै हम्मे


राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको आप्रवासन नीतिविरुद्ध आन्दोलन चर्किएपछि क्यालिफोर्निया राज्यको लस एन्जलसको डाउनटाउन क्षेत्रमा कफ्र्यु लगाइएको छ । शुक्रबारदेखि सुरु भएको आन्दोलन थप चर्किन थालेपछि कफ्र्यु लगाइएको हो । साथै, प्रहरीले प्रदर्शनकारीहरूलाई ठूलो संख्यामा पक्राउ गर्न थालेको छ भने यो प्रदर्शन देशका विभिन्न सहरमा पनि फैलिन थालेको छ ।

गत वर्ष लस एन्जलसको जङ्गलमा लागेको भीषण आगलागीले सयौँलाई घरवारविहीन बनाउँदै अर्बौंको क्षति पु¥याएको थियो । यतिबेला लस एन्जलसमा फेरि एकपटक आगो दन्किएको छ, तर त्यो जङ्गलमा होइन, सडकमा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई देश निकाला (डिपोर्ट) गर्ने नीति ल्याएसँगै देशभर विभिन्न स्थानमा प्रहरीले छापा मार्न थालेपछि यो आन्दोलनले उग्र रूप लिएको हो । प्रदर्शनकारीहरूले ट्रम्पको नीतिको व्यापक विरोध गरिरहेका छन् भने राष्ट्रपति ट्रम्प पनि पछि हट्न तयार देखिँदैनन् ।


दुवै पक्षको टकरावले लस एन्जलस सहर रणभूमिमा परिणत भएको छ । आन्दोलनकारी र प्रहरीबीच दिन होस या रात झडप भइरहेको छ । यसका साथै सहरमा आगजनी, तोडफोड तथा लुटपाटका घटना पनि भएका छन् । यसै स्थितिलाई मध्यनजर गर्दै क्यालिफोर्निया राज्यको लस एन्जलस डाउनटाउन क्षेत्रमा कफ्र्यु घोषणा गरिएको छ । कफ्यु आदेशको अवज्ञा गर्दै आन्दोलनकारीले प्रदर्शन जारी राखेपछि प्रहरीले प्रदर्शनकारीहरूलाई ठूलो संख्यामा पक्राउ गर्न थालेको छ । लस एन्जलसमा पक्राउ पर्नेहरूको संख्या लगातार बढिरहेको छ । कफ्र्यु लाग्नुअघि नै मंगलबार झन्डै २०० जनालाई हिरासतमा लिइएको थियो । मंगलबार, आन्दोलनको पाँचौं दिनसम्म पनि स्थिति साम्य हुने सङ्केत नदेखिएपछि लस एन्जलस सहरकी मेयर करेन बासले डाउनटाउन क्षेत्रमा कफ्र्यु घोषणा गरेकी हुन् । मंगलबार रातिदेखि लागू हुने गरी कफ्र्यु आदेश जारी गरिएको हो ।

“जारी आन्दोलन मत्थर हुने सङ्केत नदेखिएपछि थप क्षति रोक्न र शान्ति स्थापनाका लागि लस एन्जलस डाउनटाउनको १ वर्ग माइल क्षेत्रमा कफ्र्यु लागू गरिएको छ,” पत्रकार सम्मेलनमा मेयर बासले भनिन्, “स्थानीय समयअनुसार मंगलबार साँझ ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कफ्र्यु कडाइका साथ लागू हुनेछ ।” आन्दोलनका कारण सहरको जनजीवन प्रभावित भएको र धेरै व्यवसायमा क्षति पुगेकोमा उनले दुःख व्यक्त गरिन् । सोमबार राति मात्रै डाउनटाउन क्षेत्रका २३ वटा व्यावसायिक प्रतिष्ठानमा लुटपाट भएको जानकारी उनले दिइन् । लस एन्जलस सहरको कुल क्षेत्रफल ५ सय २ वर्ग माइल भए पनि त्यसमध्ये १ वर्ग माइल क्षेत्रमा मात्र कफ्र्यु लागू गरिएको छ ।

लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले सर्वसाधारणको ज्यान र सम्पत्तिको सुरक्षाका लागि कफ्र्यु आवश्यक रहेको बताए । “विगत केही दिनदेखि सहरमा लगातार बढ्दो अशान्ति र अवैध तथा खतरनाक गतिविधिका कारण हामीलाई यो कदम चाल्न बाध्य बनाएको हो,” प्रहरी प्रमुखले भने । एक समय शान्त रहेको लस एन्जलसको यो क्षेत्र एकाएक युद्धभूमिमा परिणत भएको छ । लस एन्जलसबाट सुरु भएको प्रदर्शनको यो लहर न्युयोर्क, सिकागो र वासिङ्टन डीसीजस्ता अन्य प्रमुख सहरहरूमा पनि फैलिएको छ । यस हप्ता र सप्ताहन्तमा थप प्रदर्शनहरूको योजना बनाइएको सीएनएनले उल्लेख गरेको छ ।

टेक्सासका गभर्नर ग्रेग एबटले यस हप्ता हुने नियोजित प्रदर्शनहरूलाई ध्यानमा राख्दै राज्यका विभिन्न स्थानमा ‘टेक्सास नेसनल गार्ड’का सदस्यहरूलाई तैनाथ गरिने बताएका छन् । संघीय कर्मचारी र सम्पत्तिको सुरक्षामा सहयोग गर्न चार हजार नेसनल गार्डका साथै करिब ७०० मरिन (अमेरिकी नौसैनिक) लाई सक्रिय पारिएको छ । अमेरिकी अधिकारीहरूले सीएनएनलाई बताएअनुसार उनीहरू लस एन्जलसबाहिर तयारी अवस्थामा छन् र आदेशको प्रतीक्षा गरिरहेका छन् । मंगलबार एक संघीय न्यायाधीशले राज्यमा कानुन लागू गर्न मरिन र नेसनल गार्डको प्रयोगमाथि तत्काल रोक लगाउन क्यालिफोर्नियाले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् । यस विषयमा बिहीबार सुनुवाइ हुने तय भएको छ । लस एन्जलसको सडकबाट सुरु भएको प्रदर्शनको आगो डढेलोसरि देशभर फैलिँदै गर्दा, सरकारले कफ्र्यु, सामूहिक पक्राउ र सेना परिचालनजस्ता कडा कदम चालेको छ ।

तर, यस्ता उपायले स्थितिलाई साम्य पार्नुको सट्टा थप भड्काउने र संघीय सरकार तथा राज्यहरूबीचको द्वन्द्वलाई गहिरो बनाउने जोखिम बढाएको छ । यो अब केवल एउटा नीतिको विरोधमा सीमित नरही नागरिक अधिकार, कानुनी शासन र राज्यको शक्तिको सीमाजस्ता आधारभूत प्रश्नहरूमा केन्द्रित राष्ट्रिय सङ्कट बन्न पुगेको छ । सडकमा प्रदर्शनकारी र प्रहरी तथा अदालतमा राज्य र संघीय सरकारबीचको यो लडाइँले अमेरिका एक गहिरो आन्तरिक विभाजन र सम्भावित रूपमा विस्फोटक भविष्यतर्फ धकेलिएको स्पष्ट सङ्केत गरेको छ । समाधानको बाटो तत्काल नदेखिएकाले यो तनावले कुन रूप लिन्छ, त्यो हेर्न बाँकी नै छ