निर्मलनिवास सक्रिय हुँदासमेत आन्दोलन हाँक्ने नेतृत्वकै कारण राजावादी आन्दोलन शिथिल बन्न थालेको छ । दलगत स्वार्थका कारण नेतृत्वमा देखिएको समन्वय अभावले यस्तो अवस्था बनेको हो । जहाँ राप्रपा सबैभन्दा बढी चेपुवामा देखिँदा के भइरहेको छ त राजावादी आन्दोलनमा ?
तिनकुने घटनामा धक्का बेहोरेपछि बल्लबल्ल तङ्ग्रिन खोजेको राजावादी आन्दोलन पुनः सङ्कटमा पर्ने खतरा बढेको छ । दलगत स्वार्थ हावी हुँदा र नेतृत्वमा समन्वयको अभाव देखिँदा निर्मलनिवासको सक्रियताले समेत आन्दोलनमा ऊर्जा थप्न सकेको छैन । यसको सबैभन्दा बढी मार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खेपिरहेको छ, जुन दलमाथि राजनीतिक लाभका लागि मात्र राजसंस्था र हिन्दु धर्मको मुद्दा बोकेको आरोप लाग्दै आएको छ । यही कारण पछिल्लो आन्दोलनमा निर्मलनिवासले राप्रपालाई ‘बाइपास’ गरी नवराज सुवेदी र दुर्गा प्रसाईंलाई अघि सारेको थियो ।
जसकारण राप्रपा बाध्यताले मात्र सडकमा आएको थियो । तर, अवस्था कस्तो बनिदियो भने तिनकुने विध्वंशको केन्द्र बन्दा प्रसाईं हिरासतमा पुगे । यो घटनामा निर्मलनिवास नै तानिने अवस्था बन्दा प्रसाईंलाई बलिको बोको बनाएर राप्रपाले आफ्नो राजनीति शुरु गर्यो । राप्रपाले त्यसैमा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न खोजेको आरोप पनि छ । यो जटिल परिस्थितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना नेता छुटाएर आफूलाई संकटमोचकका रूपमा प्रस्तुत गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न खोजेको देखिन्छ । फलस्वरूप, लिङ्देन राजावादी आन्दोलनको सबैभन्दा ठूलो दलको हैसियतले नेतृत्व आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् । तर, हालको आन्दोलनको नेतृत्व सुवेदीले गरिरहेका छन् । उनकै निर्णयअनुसार राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्तिलगायतका दलहरू आन्दोलनमा सहभागी छन् । अर्कोतर्फ, आन्दोलनमा आफ्नो दलको झण्डा समेत प्रदर्शन गर्न नपाउने अवस्थाले ‘राजा पनि नफर्किने र पार्टीको ब्रान्डिङ पनि नहुने’ यो आन्दोलनको औचित्य के हो भन्ने प्रश्न राप्रपाभित्रै उठ्न थालेको छ ।
वास्तवमा, राजावादी आन्दोलनमा सबैभन्दा ठूलो र संगठित शक्ति राप्रपा नै हो । तर, राजतन्त्रको पक्षमा भनिएका करिब ४४ वटा शक्तिको नेतृत्व राप्रपाले नपाउँदा आफ्नो र अन्य साना संगठनको हैसियत बराबर देखाइएको उसको बुझाइ छ । यद्यपि, पूर्वराजा ज्ञानेन्द्रले ‘लन्च मिटिङ’ मार्फत अघि सारेको कार्ययोजनालाई अस्वीकार गर्ने अवस्था पनि राप्रपाका लागि सहज थिएन । यही बाध्यताले गर्दा विभिन्न घटक एक ठाउँमा देखिए पनि, आफ्ना नेता पक्राउ परेपछि आइतबार आह्वान गरिएको बन्दको घोषणामै राप्रपाले फरक मत राख्यो । यसले राजावादीहरूबीचको समन्वय अभाव प्रस्ट पारेको छ । तथापि, आन्दोलन नै छोडिहाल्ने अवस्थामा पनि राप्रपा देखिँदैन । यही नैतिक दबाब कायम राख्न पूर्वराजा ज्ञानेन्द्रले बुहारी हिमानी र नाति हृदयेन्द्रलाई समेत अघि सारेको विश्लेषण हुन थालेको छ । यसले गर्दा राप्रपा ‘पर्ख र हेर’ को अवस्थामा अलमलिएको छ ।उता, कमल थापा पक्राउ परेको घटना होस् वा हिमानी शाहले गरेको दीप प्रज्वलन र त्यसक्रममा वाईसीएलसँग भएको झडप । यी घटनाले सुस्ताएको माहोललाई ऊर्जा दिने आशा राजावादीहरूमा थियो । तर, उनीहरूले न त यसलाई ऊर्जाका रूपमा प्रयोग गर्न सके, न त आन्दोलनमा जनसहभागिता नै बढाउन सके । बरु, सरकारले क्रमशः दबाब बढाउँदै आन्दोलन गर्ने स्थान सीमित गरिदिँदा निषेधाज्ञा तोडेर अघि बढ्ने आँटसमेत राजावादीहरूले देखाउन सकेका छैनन् । त्यसमाथि दिन प्रतिदिन घट्दो उपस्थिति अर्को चुनौती बनेको छ ।
यस्तो अवस्थामा राजावादीहरू आन्दोलनको ‘सेफ ल्यान्डिङ’ अर्थात् सुरक्षित अवतरणको पर्खाइमा रहेको बुझ्न कठिन छैन । अन्ततः नेतृत्वको कलह, दलगत स्वार्थको टकराव, र स्पष्ट रणनीतिको अभावमा छिन्नभिन्न बनेको राजावादी आन्दोलन अहिले दिशाहिन र प्रभावहीन देखिन्छ । जबसम्म सबैभन्दा ठूलो शक्ति मानिएको राप्रपाले नै आफ्नो भूमिका र आन्दोलनको औचित्यबारे प्रस्ट हुन सक्दैन, तबसम्म निर्मलनिवासको परोक्ष सक्रियताले मात्रै यो आन्दोलनलाई निर्णायक मोड दिन असम्भवप्रायः छ । यो अवस्थाले राजावादी शक्तिहरूको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ, र उनीहरू केवल विगतको विरासतको धङधङीमा सीमित हुने खतरा पनि उत्तिकै छ ।
प्रतिक्रिया