देश

बालेनको नबोल्ने कसम, गणतन्त्र दिवस ः राष्ट्रपतिको सम्बोधन, कांग्रेस–एमालेलाई सदनमा मिल्यो एजेन्डा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— जे–जति भए पनि ‘बोल्दै नबोल्ने नेपालका नेता को हुन् ?’ भन्ने प्रश्नमा सबैको मुखबाट एउटै जवाफ आउँछ— प्रधानमन्त्री बालेन शाह । निर्वाचनका बेला कम बोलेर चुनावी मैदानमा होमिएका बालेन प्रधानमन्त्री बनेको करिब दुई महिना बितिसक्दा पनि कुनै औपचारिक कार्यक्रममा बोलेका छैनन् । न त उनले संसदमा सम्बोधन गरेका छन्, न त देश र जनताका नाममा नै केही भनेका छन् । उनको नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा समेत उनी अनुपस्थित रहे । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन सदन बैठकबाट बीचमै उठेर हिँडेका थिए, जसलाई प्रतिपक्षले राजनीतिक मुद्दा नै बनाएको थियो । त्यसपछि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने संसदीय अभ्यास भए पनि त्यसमा उनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई खटाए । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसद्मा खोजी भयो, तर सरकारले संसद्मा आफ्नो संख्यात्मक शक्ति देखायो । प्रतिनिधिसभा नियमावलीअनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने व्यवस्था छ, तर त्यसमा पनि उनी उपस्थित भएका छैनन् । यता, पार्टी सभापति रवि लामिछानेलाई भने उनको बचाउ गर्न भ्याइ नभ्याई छ ।