Breaking

संसद अवरोध जारी राख्ने विपक्षी दलको तयारी


विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक आज अवरुद्ध गर्ने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् ।

आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ । जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत भएपछि आज पहिलोपटक संसद बैठक बस्न लागेको हो । बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची छ ।

गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसामा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्दा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएपछि मन्त्री लेखकमाथि पनि छानबिन गर्नुपर्ने माग विपक्षी दलहरुले राखेका छन् । छानबिनलाई सघाउन मन्त्री लेखकले राजीनामा दिनुपर्ने माग समेत उनीहरुको छ ।