जम्मु कश्मीरको पहलगाम घटनापछि भारतले विश्वका विभिन्न देशहरुसँग कूटनीतिक संवादलाई तिव्रता दिएको छ । भारतीय पक्षले विश्वका एक दर्जनभन्दा बढी नेताहरुसँग फोन संवाद गरेको छ । अधिकारीहरूका अनुसार करिब एक सय दूतावासका कूटनीतिज्ञहरूले दिल्लीस्थित भारतीय विदेश मन्त्रालय पुगेर ब्रिफिङ पनि दिएका छन् । यसले भारत–पाकिस्तानबीको तनाव थप बढाउने संकेत गरेको छ ।
भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा गत अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारतले विश्वका शक्ति राष्ट्रसँगको कूटनीतिक संवादलाई तिव्रता दिएको छ । सो आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । आतंकवादी आक्रमणपछि भारत–पाकिस्तान बीच तनाव बढ्दो अवस्थामा छ भने पीडित परिवारलाई आँसु र बिछोडको मैदानमा होमिदिएको छ । आतंकवादी आक्रमणपछि दुवै देशका सरकारले सीमा नाकाहरू बन्द गरेका छन् । यसले झनै दुई देशबीच तनाव सिर्जना गरेको छ । तनावकैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका एक दर्जनभन्दा बढी नेताहरूसँग फोन संवाद गरेका छन् । अधिकारीहरूका अनुसार करिब एक सय दूतावासका कूटनीतिज्ञहरूले दिल्लीस्थित भारतीय विदेश मन्त्रालय पुगेर ब्रिफिङ पनि दिएका छन् ।
कूटनीतिक अधिकारीहरूका अनुसार नयाँ दिल्लीले इस्लामावादविरुद्ध सैन्य कारबाहीका लागि पहल गरिरहेको छ । पछिल्लो आतंकवादी हमलामा पनि पाकिस्तानको हात रहेको भारतको आरोप छ । प्रधानमन्त्री मोदीले बिहीबार पाकिस्तानको नाम नलिई दोषीलाई कडा सजाय र आतंकवादी लुक्ने स्थान नष्ट गर्ने वाचा गरेका थिए । जस अन्तरगत अहिले कश्मीरमा भारतीय सुरक्षा फौजले व्यापक सर्च अप्रेसन चलाइरहेको छ । यसक्रममा सयौँलाई गिरफ्तार गरिएको छ ।
भारतले सिन्धु सन्धि निलम्बन गर्दैै पानी रोक्ने चेतावनी दिइसकेको छ । यसले पाकिस्तानको सिँचाइ प्रणाली प्रभावित हुने छ । यस्तै, पाकिस्तानी कूटनीतिज्ञहरूको निष्कासन, भिसा रद्द, र वाघा–अटारी सीमा बन्द गर्ने निर्णय गरिसकेको छ । २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको पाँच दिन बित्दा पनि भारतले आधिकारिक रूपमा कुनै पनि समूहलाई जिम्मेवार ठह¥याएको छैन । यसमा पाकिस्तानको हात रहेको प्रमाण पनि सार्वजनिक गर्न सकेको छैन । पाकिस्तान सरकारले यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानबीचको सैन्य टकराव भयानक युद्धमा परिणत हुने खतरा बढ्दै गएको छ । जसलाई रोक्न कठिन हुन सक्छ ।
पछिल्ला वर्षहरूमा भारतको कूटनीतिक र आर्थिक शक्ति बढ्दै जाँदा भारत शक्ति देखाउन हतारिएको देख्न सकिन्छ । भारत–पाक तनाव बढ्दै गएको अवस्थामा इरान र साउदी अरबले दुवै पक्षसँग छलफल थालेका छन् । इरानका विदेशमन्त्रीले सार्वजनिक रूपमै मध्यस्थताको प्रस्ताव गरेका छन् । राष्ट्रसंघ र ईयूले संयम अपनाउन र संवादमार्फत समाधान निकाल्न आग्रह गरेका छन् । तर, अमेरिकासहितका प्रमुख शक्तिहरू अन्य संकटमा अलमलिएका छन् भने न्यायका लागि अन्य मुलुकले आफूलाई गरेको समर्थनलाई भारतले जुनसुकै कदम चाल्नका लागि आफूलाई दिइएको सहमतिको अर्थमा व्याख्या गरिरहेको विश्लेषकहरूको भनाइ छ ।
ट्रम्प प्रशासनले आतंकवादविरुद्ध भारतको लडाइँप्रति बलियो समर्थन दिएको छ । ट्रम्पले भारत र पाकिस्तान दुवैसँग मित्रता भएको तर यी दुई देशबीच लामो समयदेखि मतभेद रहेको उल्लेख गरेका छन् । यद्यपि, अहिलेको टकरावमा अमेरिका कति संलग्न हुनेछ भन्ने स्पष्ट पारेको छैन । कार्यकाल सुरु गरेको तीन महिना पुगिसक्दा पनि ट्रम्पले भारतका लागि राजदूत नियुक्त गरेका छैनन् । यसले दक्षिण एसिया उनको प्राथमिकतामा छैन भन्ने स्पष्ट पार्छ । उसो त अमेरिकासहितका मुलुक यो द्वन्द्वमा प्रवेश गर्न खोजे पनि उनीहरूको प्रभाव सीमित हुनेछ । कश्मीरलाई लिएर भारत र पाकिस्तानले पटक पटक युद्ध लडिसकेका छन् । नयाँ दिल्लीले यो विवादलाई द्विपक्षीय मामिला मान्दै आएको छ । सन् १९४७ को भारत–पाकिस्तान विभाजनको घाउ पूरै निको भएको छैन ।
त्यसबेलादेखिको तिक्तता आज पनि ताजै छ । फलतः सीमाहरू फेरि रक्ताम्य हुने अवस्थामा पुगेको छ । मुस्लिम समुदायको बाहुल्य भएको जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकदेखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षमा आक्रमणका घटनामा केही कमी आएको थियो । जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकमाथि अप्रिल २२ मा जस्तो ठूलो आक्रमण भएका थिएनन् । पछिल्लो समयको यो घटनाले दुई देशबीचको द्वन्द्व पुनः उत्कर्षमा पुगेको छ । जसले २०१६ र २०१९ का सर्जिकल स्ट्राइक र एयर स्ट्राइकको स्मरण गराइरहेको छ । हालको स्थिति अत्यन्त संवेदनशील बनेको छ । भारतले कडा सैन्य र कूटनीतिक कदमहरू चालेको छ, जसले पाकिस्तानसँगको तनावलाई थप बढाएको छ। यद्यपि पूर्ण युद्धको सम्भावना नदेखिए पनि कुनै पनि गल्ती वा उकासाहटले स्थिति गम्भीर बन्न सक्ने छ ।
प्रतिक्रिया