देश

रविलाई प्रधानमन्त्री बनाउने खेल, दिल्लीदेखि कांग्रेस–एमालेसम्मको चाहना, अदालत र अधिवेशनले खोल्ला बाटो ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— एक समय यस्तो थियो, जहाँ नयाँ वैकल्पिक दल खोलेर राजनीतिमा बामे सर्दै गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कांग्रेस–एमाले लगायतका पुराना दलहरूले देखिसहँदैन थिए । विभिन्न विवाद र मुद्दा–मामिलामा फसेका लामिछानेलाई ओरालो लागेको मृगझैं निरन्तर लखेटिरहे । तर अहिले परिस्थिति बदलिएको छ । झन्डै दुईतिहाइ जनमतसहित रास्वपाले शक्तिशाली सरकारको नेतृत्व गरिरहेका बेला कुनै समय राजनीतिक रूपमा आफैंले लखेटेका दलका नेताहरूले रवि लामिछानेलाई प्रधानमन्त्री बन्नुपर्ने इच्छा जाहेर गर्न थालेका छन् । संसद् र संसदीय प्रक्रियामा कुनै अनुभव नभएका बालेन्द्र शाहलाई रास्वपाले प्रधानमन्त्री बनाएपछि, शाहले संसद्लाई गरेको निरन्तरको उपेक्षाका कारण विपक्षीहरू ‘रवि नै प्रधानमन्त्री बन्नुपर्ने’ मनस्थितिमा पुगेका हुन् । संसद् सुरु भएको तीन महिना बितिसक्दा प्रधानमन्त्री शाहले सदनमा जम्मा एक पटक मात्र सम्बोधन गरेका छन् । त्यही एक पटक संसद्मा बोल्दा पनि होस नपु¥याउँदा शाहकै कारण लामो समयदेखि संसद् अवरुद्ध भइरहेको छ । प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाटै ‘नेपालले भारतको पनि भूमि मिचेको’ अभिव्यक्ति दिएपछि प्रतिपक्षी मात्र होइन, रास्वपाकै सांसदहरू लज्जाबोध गरिरहेका छन् । शाहले संसद्मा आएर माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग विपक्षी दलहरूको छ । तर, प्रधानमन्त्री शाहले विपक्षीको आवाज र संसद्को गतिरोधलाई बेवास्ता गर्दै नेपालको लोकतान्त्रिक संसदीय प्रणालीकै धज्जी उडाइरहेका छन् । जसका कारण विपक्षीहरू बालेनको सट्टा रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने भन्दै कामना गर्न थालेका छन् ।