काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूचीसमेत तय गरिएको छ ।
अर्थ विधेयक समयअवधिभित्र राष्ट्रिय सभाबाट फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने कार्यसूची छ । बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायत कार्यसूचीसमेत रहेको छ ।
यद्यपि, प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदनमा लगातार अवरोध गरिरहेकोले आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने या नगर्ने निश्चित छैन । साथै, करको दर हेरफेर र त्यस सम्बन्धी सूचना ‘लिक’बारे अर्थमन्त्रीमाथि छानविनको मागसमेत विपक्षी दलहरूले गरेका छन् ।
तर, सरकारले संसद बैठक सुचारु गर्ने सन्दर्भमा पहल गरेको छैन ।


प्रतिक्रिया