Breaking

कांग्रेसमा ल्याङ्फयाङ्, देउवा–आरजुका अघि सबै चुप, हैसियत छैन


केन्द्र र प्रदेश सरकारहरुमा सबैभन्दा ठूलो भाग लिइरहेको कांग्रेस प्रतिपक्षीभन्दा पनि कडा भाषामा सकारको आलोचना गरिरहेको छ । पार्टी नेतृत्व र अन्य जिम्मवार नेताहरुकै सरकारमा रहने–नरहनेबारे आकाश–पातालकै फरक देखिन्छ । कांग्रेसको आधिकारिक धारणा कुन हो छुट्याउनै मुस्किल परिरहेको छ ।

नेपाली कांग्रेस– एमालेसँग ठूलो शक्तिशाली सरकार । अबको १४ महिनापछि शेरबहादुर देउवा यो देशको प्रधानमन्त्री बन्ने रे । केन्द्रमा १० मन्त्री लिएकै छ । सातमध्ये चार प्रदेशमा मुख्यमन्त्री कांग्रेसकै । प्रदेशमा पनि ३२ मन्त्रीसहित सबैभन्दा ठूलो भाग खाएको दल । तर, रवैया यस्तो लाग्छ माओवादीभन्दा कडा प्रतिपक्षी यही कांग्रेस हो । शीर्ष नेता भन्छन्– सबै ठिकठाक छ । सरकार पूरै अवधि जान्छ । अरु नेता भन्छन्– सबै खत्तम भइसक्यो–जतिबेला पनि सरकार छाड्न सकिन्छ । सायद धेरै लोकतान्त्रिक अधिकारको मात चढेर हुनुपर्छ ? सरकार ठिक छैन भन्ने धारणा आधिकारिक हो वा काम गर्न सकेन भन्ने धारणा ? जनता त सधैँ अलमलमा छन् नै कार्यकर्तासमेत द्विविधामा छन् । संकटका बेला मध्यमार्गी बाटो देखाउने कांग्रेसले अहिले त्यही संकट देखाउँदै बोलेर पिठो बिकाउने र भागबन्डाको बार्गेनिङ गर्ने टुल बनाइरहेको छ । कांग्रेसको दोगला चरित्र देखिने केही उदाहरण यहाँ देखाउँदैछौँ ।

१. शेरबहादुर देउवा
कांग्रेसको सभापति हुन् शेरबहादुर देउवा । अब बन्ने भावी प्रधानमन्त्री पनि । जो आफैँ अन्योलमा छन् कि यो सरकारको बचाउ गर्ने कि विरोध ? बचाउ गरौँ सोच्छन्– अनि लाग्छ, न काम गरेको छ न भाग दिएको छ, कसरी बचाउ गर्नु ? विरोध गरौँ सोच्छन्, लाग्छ– अबको प्रधानमन्त्री मै हुँ, असहयोग गर्न त कसरी मिल्ला र ? यही मनोदशाबाट ग्रसित देउवाले चैत ३० गते भनेका थिए– सरकारका कारण कांग्रेस बद्नाम भयो । बैशाख १२ गते अर्को अभिव्यक्ति दिए– यो सरकार ढल्दैन ।

२. महामन्त्री गगन थापा
दुई ठुला दल मिलेर सरकार बनाउँदा सकारात्मक अपेक्षापसहित सरकार चलाउने संयन्त्रका सदस्य हुन् गगन थापा । जसले आफ्नो बद्नामी खपेरै भए पनि सरकारलाई मार्गदर्शन गरे । तर, पछिल्ला केही महिनायता गगनले सरकारले काम गर्न नसकेको बोली तारन्तार दोहो¥याइरहेका छन् । अहिले त त्योभन्दा पनि माथि उठेर कांग्रेसले जुनसुकै बेला सरकार छाड्न सक्ने धम्की दिइरहेका छन् ।

सरकार असफल भएको हो भने कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सक्नुपर्छ । होइन भने मन्त्री फिर्ता ल्याउन सक्नुपर्छ । तर, सार्वजनिक खपतका लागि महामन्त्रीहरु बोलिरहेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माको हालत पनि उस्तै छ । उनीहरुका अभिव्यक्ति व्यक्तिगत हुन् कि पार्टीको आधिकारिक ?
३. उपसभापति पूर्णबहादुर खड्का
खड्काले पनि सरकारका कामकारबाहीमा पूर्ण असन्तुष्टि जनाएका छन् । बुधबार खड्काले सभापति देउवा थाइल्यान्डबाट फर्किएपछि अर्कै तरिकाले अघि बढ्ने बताएका थिए । माओवादीले समेत वर्तमान सरकार ढल्ने चेतावनी दिइरहेका समय खड्काको यो अभिव्यक्तिले ओली झस्किएका थिए ।

४. शेखर कोइराला
नेता शेखर कोइराला वर्तमान सरकार बनेको दुई महिना समर्थनमै थिए । तर, त्यसयता सरकारको निरन्तर आलोचना गरिरहेका छन् । खासगरी सात बुँदे सहमतिअनुसार अघि बढ्न नसकेको र सरकारमा गएर काम देखाउन नसक्दा एमालेका कारण कांग्रेससमेत बद्नाम भइरहेको टिप्पणी गर्दै आएका छन् ।

५. मन्त्री–मन्त्रीमै बेमेल
कांग्रेसका मन्त्रीहरुमै बेमेल देखिन्छ । त्यसको गतिलो उदाहरण ऊर्जामन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामको टसल हो । विद्युत प्राधिकरणबाट जसरी पनि कुुलमान घिसिङलाई हटाउनु पर्ने प्रष्ट लाइनमा रहेका खड्का र घिसिङलाई सरकारले पुरस्कार दिनु पर्ने लाइनमा रहेका तामाङबीच कलह थियो । फलतः तामाङ यही कारण बर्खास्तमा परे । अब खड्कालाई यो सरकार पुरै समय जोगाइराख्नु छ । तामाङलाई भने यो सरकारदेखि सही नसक्नु भएको छ ।

यी तामाम नेताहरुले सरकारको सकेसम्म विरोध गर्दा पनि कांग्रेसको आधिकारिक धारणा के हो ? थाहा छैन । अर्कोतर्फ सरकारसँग असन्तुष्टि भए महामन्त्रीजस्ता नेता पार्टी निर्माणमा लाग्नुपर्ने हो । तर, दुई महिनामा राख्नु पर्ने केन्द्रीय कार्यसमिति बैठक बल्ल बैशाख १७ गतेका लागि बोलाइएको थियो । त्यो पनि अनिश्चितकालका लागि स्थगित भएको छ । यही बीचमा देउवा पक्षकै नेताहरु आगामी महाधिवेशन तयारीका लागि गुटबन्दीमा लागेका छन् । एकातर्फ पार्टी लथालिंग अर्कोतर्फ सरकार सञ्चालनमा पनि फेल । कांग्रेसका यिनै रवैयाले एमालेसमेत वाक्क भइरहेको छ ।

खासमा अहिले सरकार एकलौटी चलेको र संयन्त्रका सुझाव समेत नसुकेको मुख्य आरोप छ । यसबारे देउवाले ओलीसँग निर्णायक छलफल गर्ने पनि भनेका छन् । तर, त्यो छलफल भएको बुझिएको छैन । सरकार गलत बाटोमा गइरहेको भए कांग्रेसले सरकार छाड्नेसम्मका धम्की दिनेभन्दा पनि निर्णय नै लिन सक्नुपर्छ । होइन भने सत्ताको दोष बोक्न कांग्रेस पनि तयार हुनुपर्छ । एमाले र प्रधानमन्त्रीमा मात्रै खोट देखाएर पन्छिने र मनलाग्दी बोल्दै हिँड्ने छुट कांग्रेसलाई किमार्थ छैन ।