राजावादीहरूको आन्दोलनपछि सत्ताधारी दलहरूकै बोली बोल्न थालेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफैँले उठाएका मुद्दालाई पनि बेवास्ता गर्दै हिँडेका छन् । सरकारलाई खबरदारी गर्न उठाउनु पर्ने कयौं मुद्दाहरू भए पनि प्रचण्ड मुद्दैमुद्दाकाबीच पनि मुद्दाविहीन जस्तै बनेका छन् ।
सदनको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै अहिले मुुद्दाविहीन भएका छन् । प्रतिपक्ष दलहरूको सबैभन्दा ठूलो नेताको हैसियत बनाएका प्रचण्डले नै मुद्दा उठाउन नसक्दा सरकारलाई खबरदारी गर्न चुकिरहेका छन् । चैत १५ गतेसम्म कांग्रेस एमालेसँग पौठेजोरी खेल्न तम्सिने प्रचण्ड राजावादीको रापताप बढेपछि सत्तारुढ दलकै बोलीमा लोली मिलाउनु पर्ने अवस्थामा पुगेका छन् ।
राजावादी र समाजवादी मोर्चाको आन्दोलन जुधेपछि सत्ताधारी दलभन्दा कट्टर गणतन्त्रवादी देखिनु पर्ने अवस्था प्रचण्डसामू रहँदा सरकारका गतिविधिलाई उनले नजरअन्दाज गरिरहेका छन् । तीनकुने आन्दोलनका क्रममा प्रहरीले २० राउन्ड गोली नागरिकमाथि चलाउँदा पनि प्रचण्डलाई दुखेको छैन भने घाइतेले उपचार नपाउने अवस्थाको सिर्जना हुँदासमेत प्रचण्डको बोली फुटेको छैन । तीनकुनेमा एक पत्रकारसहित दुई नेपालीको ज्यान जाने गरि भएको हिंसात्मक घटनामा सत्ताधारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै पीडितको घरमा पुगेर छानविन समिति गठन गर्ने भनेर आश्वासन दिन भ्याएका छन् ।
तर कट्टर गणतन्त्रवादी बनेका प्रचण्डको भने अझै मौन छन् । राज्यले ज्यादती गर्दा चारै तिरबाट न्यायिक छानविन समितिको माग राख्दा राजावादी बोकेको आरोप लाग्ने डरले प्रचण्डको मुखबाट अझै त्यो सुन्न पाइएको छैन । राजावादी सलबलाउँदा मुद्दा मोडिएर सरकारलाई हाइसञ्चो भएको स्वीरेका प्रचण्डले ज्यान गुमाएका नागरिकको पक्षमा बोल्दा व्यवस्था नै खतरामा पक्कै पर्दैन थियो होला ।
गणतन्त्र जोगाउने बहानामा सत्तारुढ दलसँग काँध जोड्दा मौन सहकार्य गरिरहेका प्रचण्ड पहिले आफैँले ठूलो मुद्दा बनाएको कुलमान घिसिङको मुद्दालाई पनि अनदेखा गरिरहेका छन् । कार्यकाल सकिन चार महिनामात्रै बाँकी रहँदा पुरस्कृत गरेर ‘सेफ एक्जिट’ को अपेक्षा गरेका कुलमानलाई अपमानित गर्दै बर्खास्ती गर्दा पनि प्रचण्डले यो मुद्दालाई बेवास्ता गरे । प्रचण्डले कुलमानको मुद्दाबाट हात झिक्दा अहिले तामाङ समुदायले मात्रै उठाइरहेको छ ।
त्यस्तै प्रचण्डले आफूले देशमा सुशासन कायम गर्न खोज्दा सरकार ढलेको बारम्बार बताउँदै आएका छन् । तर, उनले आफ्नो १८ महिने कार्यकाल सम्हाल्दा आफूले सुशासनको जग हालेको उद्घोष गर्दा अहिले त्यही जग लथालिङ्ग अवस्थामा पुग्दा पनि चुप छन् । नक्कली भुटानी, गिरीबन्धु लगायतका प्रकरणमा शेरा दरबार मिसिएपछि उनको अस्वाभाविक मौनता रहेको आरोप छ । फलतः प्रचण्डले सुशासनको मुद्दा गुमाएका छन् ।
प्रचण्डले कुलमानका लागि बनाएको प्रतिपक्षी मोर्चा राजावादीविरुद्ध लाग्दा तिनै प्रतिपक्षीसँगको सम्बन्ध पनि बिगारेका छन् । प्रतिपक्षमा भए पनि सरकारकै भूमिकामा भए जस्तै देखिएका प्रचण्ड राजावादीहरूसँग भिड्न तम्सिएका छन् । जसको फाइदा सत्तासीन दलहरूले उठाउँदा ड्यामेज प्रचण्डको मात्रै भएको छ ।
प्राधिकरण लगायत गभर्नर जस्ता सरकारी नियुक्तिमा हुने चलखेललाई पनि प्रचण्डले मुद्दा बनाउन सकेका छैनन् । भन्ने बेलामा बालेन र हर्क जस्ता व्यक्ति पार्टीमा चाहिन्छ भन्ने तर, त्यस्ता कयौं गणतन्त्रको फुललाई कुल्चिदै नयाँलाई अवसर नै नदिई नन्दबहादुर पुन जस्ता पात्रलाई पार्टीमा दोहो¥याएर स्वागत गरिरहेका छन् । माओवादीले पुनलाई उपध्यक्षमा मनोनीत गरेको छ । प्रमुख प्रतिपक्षीको नेता भइसकेपछि सरकारलाई खबरदारी गर्दै मुद्दा बनाउनु पर्ने प्रचण्ड मुद्दै मुद्दाकाबीच पनि मुद्दाविहीन जस्तै बनेका छन् ।
प्रतिक्रिया