राजनीति

काण्डले गिजोलिएको राजनीति, विदेशी बैंकमा पैसादेखि सुनका खेलसम्म


नेपाली राजनीति आरोपप्रत्यारोपको जन्जालमा पर्दा फुस्किनै नसक्ने गरी जकडिएको छ । आफूले लगाएको आरोप पुष्टि गर्न नपर्ने परिपाटी हाबी हुँदै जाँदा जसले जसलाई जेसुकै आरोप लगाइदिए पनि हुने भएको छ ।

राजनीतिमा आरोपप्रत्यारोप गर्नु सामान्यतः स्वभाविक मान्न सकिन्छ । तर, पछिल्लो समय नेपाली राजनीतिमा देखिएको आरोपप्रत्यारोपको श्रृंखलालाई हेर्ने हो भने राजनीतिलाई नै विद्रूप पार्ने खालका हुने गरेका छन् । पञ्चायतकालदेखि नै राजनीतिक उद्देश्य पूर्तिका लागि राजनीतिक दल र नेताहरूले आफ्ना विरोधीहरूलाई बदनाम गर्न विभित्र तथ्यहीन र प्रमाणले पुष्टि गर्न नसक्ने खालका गम्भीर आरोप लगाउने गरेका थिए । तत्कालीन राजपरिवारविरुद्ध कांग्रेस र कम्युनिष्टले प्रमाण र तथ्यले पुष्टि गर्न नसक्ने कयौं आरोप लगाएर नारा दिने गरेका थिए ।

स्वर्गीय रानी ऐश्वर्यलाई पम्फादेवीको संज्ञा दिँदै उनले स्वीस बैंकमा पैसा राखेको र त्यो पैसाले देशको भोकमरी नै हट्नेसम्मको आरोप दलका नेताहरुले लगाउने गरेका थिए । राजतन्त्र फालेको दुई दशक हुँनै लाग्दा पनि पटक पटक सत्तामा पुगिसकेका तिनै कांग्रेस र कम्युनिष्टले सो आरोपलाई आजसम्म पुष्टि गर्न सकेका छैनन् । यस्तै खालको प्रवृत्ति अहिले पनि राजनीतिक दलका नेताहरूमा कायमै छ । १०४ वर्षीय जहानियाँ राणा शासन फाल्दै प्रजातन्त्र हुँदै मुलुक संघीय लोकतान्तिक गणतन्त्रसम्म आइपुग्दा पनि नेताहरूमा अझै पुरानै प्रवृत्ति र आनाबानी छुट्न सकेको छैन । त्यस्तै एक उदाहरण आइतबार सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देखाए । उनले बाँकेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीत्व कालमा ८ क्विन्टल सुन तस्करी भएको गम्भीर आरोप लगाए ।

तर, महासचिव पोखरेलकै पार्टीले अहिले सरकारको नेतृत्व गरिरहँदा आरोपभन्दा पनि प्रमाणसहित कानुनी दायरामा ल्याउन कसले रोकेको छ ? राजनीतिक उद्देश्यका लागि तथ्यहीन आरोप लगाएर बदनाम गर्ने प्रवृत्ति राजनीतिक दलका नेताहरूले छोड्न सकेका छैनन् । अहिले राजनीतिमा जसले जसलाई जे सुकै आरोप लगाइदिए पनि भएको छ । आफूलाई खाँटी राजावादी बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्बोडियामा अर्बौंको लगानी गरेको आरोप लगाए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि उनले सङ्गीन आरोप लगाएका छन् । उनले प्रचण्डमाथि आक्रोश पोख्दै नातिनीका लागि अमेरिका र स्वीट्जरल्यान्डमा घर किनिदिएको आरोप लगाए । तर, उनले यसको पुष्टि गर्न भने सकेका छैनन् । पपुलिस्ट बन्ने ध्याउन्नमा जे बोले पनि हुने, जस्तो सुकै आरोप लगाइदिए पनि हुने नीति उनले अंगालेको देखिन्छ ।

सत्ता बाहिर रहेका नेताहरूमात्रै होइन । यस्ता आरोपको छानविन गरेर कार्यान्वयन गर्ने निकायमा बसेको सरकारका जिम्मेवार व्यक्ति पनि आरोप लगाउनमा व्यस्त छन् । उर्जामन्त्री दीपक खड्काले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर खरिदमा व्यापक अनियमितता भएको आरोप लगाए । आफ्नै मातहतका कर्मचारीमाथि कारबाहीको सट्टा अनियमिताको आरोप लगाउनु फगत राजनीतिक फण्डा मात्रै भएको बुझ्न कठिन छैन । आरोप लगाउन हौसिने तर सत्तामा हुँदा पनि कानुनी कारबाही र छानविन भने नगर्ने मन्त्रीको रवैया झनै उदेक लाग्दो छ । यस्तै केही वर्षअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत बुढीगण्डकी जलविद्युत आयोजनामा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका थिए । उनले प्रमाण रहेको भनेर दाबी गरे पनि प्रमाण सार्वजनिक गरेनन्, न त भ्रष्टाचारको छानबिन गर्ने सम्बन्धित निकायमा उजुरी नै दिए । व्यवस्था फेरेपनि राजनीतिक दलका नेताको प्रवृत्ति भने उस्तै रहनुलाई भने बिडम्बना नै मान्नु पर्छ ।

यस्तै, माओवादीले पनि पशुपतिमा सुनको जलहरी लगाउने भनेर सरकारले दिएको पैसाले पित्तलको जलहरी लगाएको भन्दै ओलीमाथि आरोप लगाएको थियो । सो विषयले लामै समय संसदसमेत तताएको थियो । तर, छानविन गर्दा सुन नै भएको प्रमाणित भयो । यसले पनि नेताहरू राजनीतिक फण्डाका लागि तथ्यहीन आरोप लगाउन उद्यत हुने गरेको पुष्टि हुन्छ । नेताहरूले आफ्नो राजनीतिक उद्देश्य प्राप्ति र फाइदाका लागि लगाउने गरेका गम्भीर अपराधका विषयहरू आरोपमा मात्रै सीमित हुने गरेका छन् । जुन आफैँमा लज्जास्पद विषय हुन् । आरोप लगाउने तर पुष्टि गर्न नपर्ने वा नसक्ने प्रवृत्तिले जकडिएको नेपाली राजनीतिमा केवल राजनीतिक फण्डा र अभीष्ट पूरा गर्न मात्रै अरोपप्रत्यारोप भइरहेको छ । जसले विपक्षीलाई चिढ्याउने र पक्षमा रहेकालाई उक्साउने कुत्सित मानसिकता बाहेक कुनै नतिजामुखी उद्देश्य देखिँदैन ।।