Breaking

त्रिकोणात्मक टि–२० आई सिरिज : थाइल्याण्डको लगातार दोस्रो जित


काठमाडौं । थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

थाइल्याण्डले आज नेपाललाई ४ विकेटले हराएको छ । १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । उनले ५८ बलमा ६ चौका प्रहार गरिन् ।

१६औं ओभरको चौथो बलमा नान्नापतले जीवनदान पाएकी थिइन् । त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो ।

नेपालका लागि कविता र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए । नेपालले चौथो भेटमा पहिलो पल्ट थाइल्याण्डसँग टि ट्वान्टी आईमा १ सय रन पूरा गरेको हो ।

जितसँगै २ खेलमा थाइल्याण्डको ४ अंक भएको छ । खेलेको दुवै खेलमा पराजित नेपाल अंकबिहीन छ । आफ्नो तेस्रो खेल नेपालले आइतवार नेदरल्याण्ड्ससँग खेल्नेछ । थाइल्याण्डले तेस्रो खेलमा सोमवार नेदरल्याण्डसँग खेल्नेछ ।

सहभागी तीन देशले एकआपसमा समान ३ पटक खेलेपछि शिर्ष स्थानमा रहने टिम च्याम्पियन हुनेछ ।