खेलकुद

त्रिवि मैदानमा क्रिकेट क्रेज, दर्शकका अनौठा दृष्य


नेपाल प्रिमियर लिग(एनपीएल) सञ्चालनले अहिले क्रिकेटप्रति दर्शकहरूमा उल्साह छाएको छ । एनपीएल सुरु भएदेखि नै प्रतियोगितामा दर्शकको उपस्थिति बलियो देखिएको छ । योसँगै एकपछि अर्काे विश्व प्रख्यात क्रिकेटर एनपीएलमा जोडिदा यसको चर्चा देश भित्रमात्रै नभएर संसारभर चुलिदो छ ।

‘फेस्टिबल अफ हिमालयज’ नेपाल क्रिकेट सङ्घ(क्यान) ले दिएको नारा जस्तै बनेको छ, काठमाडौंमा जारी नेपाल प्रिमियर लिग(एनपीएल) । पहिलो पटक क्यानले आफ्नै आयोजनामा गरिरहेको फ्रेन्चाइज लिग एनपीएलका लिग चरणका खेलहरू अन्तिमतिर आइसकेको छ । तर, दर्शकको उपस्थितिमा भने कुनै कमी आएको छैन ।

आठ फ्रेन्चाइज टिममध्ये प्रत्येकले सात÷सात खेल खेल्नु पर्ने समीकरण भएको एनपीएलमा सबै टिमले कम्तिमा पाँच खेल खेलिसकेका छन् । यसमा लुम्बिनी लायन्सले त आफ्नो सातै खेल खेलिसकेको छ । तर, आफ्ना टिमको खेल हेर्न र खेलाडीको हौसला बढाउन दर्शक जाडो मौसम र धुलो केही नभनी त्रिवि क्रिकेट मैदान पुगिरहेकै छन् । एनपीएलले गर्दा दर्शकमा छुट्टै उल्लास छाएको छ ।

एनपीएलमा अहिलेसम्म लिग चरणका २३ वटा खेल भइसकेका छन् । तर, कुनै पनि खेलमा त्रिवि मैदानमा टोली र खेलाडीहरूले दर्शकको अभाव महसुस गर्नु परेन । १४ दिनदेखि जारी एनपीएलले क्रिकेट प्रति आमनेपाली दर्शकको चासो त बढाएको छ नै विश्वभरका क्रिकेट प्रेमीबीच यसको चर्चा चुलिँदो छ ।

खेलाडी, प्रशिक्षक, कमेन्टेटर, ब्रोडकास्टरदेखि विश्व क्रिकेट जगत्मा अनेकन कीर्तिमानीसँगै आफ्नो नाम स्वर्णिम अक्षरले लेखाइसकेका हस्तीहरूको आबद्धताले पनि एनपीएलको चर्चा देशभित्र मात्रै नभएर क्रिकेटलाई पच्छ्याउने विश्वका विभिन्न देशमा हुनु सकारात्मक पक्ष हो । जसको पुष्टि क्रिकेट हेर्नकै लागि शुक्रबार मात्रै काठमाडौं आएका वेष्ट इण्डिजका पूर्वखेलाडी ब्रायन लाराको आगमनले गर्छ ।

वेष्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लाराको नेपाल आगमनले नेपाली क्रिकेटमा थप उत्साह बढाएको छ । आफ्नो असाधारण ब्याटिङ तथा ठूलो स्कोर बनाउने क्षमताले संसारभर चर्चित दिग्गज क्रिकेटर लारा टेष्ट क्रिकेटको एकै इनिङमा ४०० रन बनाउने हालसम्मकै एक मात्र कीर्तिमानी ब्याट्सम्यान हुन् । लाराजस्ता दिग्गज खेलाडीले त्रिवि क्रिकेट मैदानमै पुगेर नेपाली खेलाडीहरूको खेल कौशल अवलोकन गर्नु क्रिकेट समर्थकका साथै राष्ट्रकै लागि गर्वकै कुरा हो । उनको आगमनले खेलाडीमा थप उत्साह र हौसला मिल्ने निश्चित छ

पहिलो संस्करणले नै नेपालमा क्रिकेट फ्रेन्चाइजको सम्भावना रहेको सत्यलाई पुष्टि गरेको छ । पर्याप्त स्रोत साधनबिना नै क्रिकेटमा मात्रै नभएर यस्ता फ्रेन्चाइजमा पाइरहेको सफलताले अब सुविधा सम्पत्र रंगशालाको आवश्यकतासमेत खड्किएको छ । पहिलो संस्करणमै एनपीएलले यो किसिमको हाइप बटुल्दा आगामी दिनहरूमा हुने संस्करणले नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउनेमा दुई मत छैन । नेपाली क्रिकेटले समाएको यो लय कायम रहे विश्व क्रिकेट जगतमा नेपालको भविष्य उज्ज्वल देखिन्छ ।