प्रधानमन्त्री केपी शर्मा ओली चार दिने भ्रमणका लागि उत्तरी छिमेकी चीन पुगेका छन् । चिनियाँ समकक्षी लि छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ ओर्लिएका हुन् । प्रधानमन्त्री बनेपछिको पहिलो औपचारिक विदेश भ्रमण बेइजिङलाई बनाएका प्रधानमन्त्री ओलीले मंगलबारदेखि औपचारिक भेटघाट गर्ने कार्यसूची छ । बीआरआई कार्यान्वयन सम्झौतामा दलीय सहमति जुटाएर बेइजिङ पुगेका प्रधानमन्त्री ओलीको चीन भ्रमण र उच्चस्तरी दुईपक्षीय भेटघाट चौतर्फी ढंगले चासोपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीन भ्रमणमा निस्किएका छन् । चार दिने औपचारिक चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओली सोमबार बेइजिङ पुगिसकेका छन् । प्रधानमन्त्री ओलीलाई बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गरेका छन् । बेइजिङ उड्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टुकडीको सम्मान गारथ अर्पणका साथै उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकसहितको टोलीले प्रधानमन्त्री ओली नेतृत्वको ८७ सदस्यीय प्रतिनिधिमण्डललाई बिदाइ गरेको थियो ।
सोमबार बेइजिङ ओर्लिएका प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ सकमक्षी ली छ्यान र राष्ट्रपति सी चिनफिङसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री ओली र समकक्षी लिबीचको दुईपक्षीय भेटवार्तामा केही आयोजनाका एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुने छ । नेपाल र चीनबीच व्यापार प्रवद्र्धन, भैँसीको मासु निर्यात, दुई देशका टेलिभिजनबीच सहकार्य, राष्ट्रिय समाचार समिति (रासस) र चिनियाँ न्यूज एजेन्सी सिन्ह्वाबीच सहकार्यलगायतका विषयमा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने छ ।
भ्रमणका क्रममा टोखा–छहरे सुरुङ्मार्ग निर्माणसम्बन्धी लेटर अफ एक्सचेन्जमा नेपाल र चीनका अधिकारीहरुले हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नेपाललाई चीनले ८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा सहमति हुने जनाइएको छ ।
४०० केभीको गल्छी–रसुवागढी–केरुङ विद्युत् प्रसारण लाइन, २०० केभी क्षमताको किमाथान्का–छेन्ताङ विद्युत् प्रसारण लाइन निर्माणको विषयमा समेत सम्झौता हुने भएको छ । त्यस्तै अरनिको राजमार्जको मर्मत र स्याफ्रुबेसी–रसुवागढी सडक विस्तार गर्ने सम्बन्धमा दुई देशबीच सहमति हुने जनाइएको छ । दुईपक्षीय औपचारिक उच्चस्तरीय कुटनीतिक भेटवार्तामा नेपाल र चीनबीच कम्तीमा ८ वटा समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने बुझिएको छ ।
चीनको चासोमा रहेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयन योजना सम्झौताबारे नेपालको अडान चीनलाई पठाइसकिएको छ । बीआरआईबारे सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीचको संयन्त्रले बनाएको साझा धारणालाई लिखित रुपमा चीनलाई पठाइएको हो । यसअघि नै परराष्ट्रमन्त्री डाक्टर आरजु राणाले आफ्नो चीन भ्रमणका क्रममा बीआरआईवारे नेपालको अडान समकक्षी वाङ यीलाई जानकारी गराइसकेकी छन् । राणाको चीन भ्रमणपछि नै सत्ता गठबन्धनको संयन्त्रले लिखित धारणा चीनलाई पठाएको हो ।
आवश्यकता हेरी बीआरआईअन्तर्गत ऋण र अनुदान सहयोग दुवै लिने सहमति दुई ठूला दलबीच भइसकेको छ । यद्यपि तत्काल अनुदानलाई जोड दिने पक्षमा सरकार छ । बेइजिङ यसबारे बृहत छलफलमा छ । फलतः बीआरआईमा दुई पक्षीय सहमति हुने सम्भावना प्रबल छ । बीआरआईले नेपाललाई चीनसँँग मात्र नभई विश्व बजारसँग फराकिलो नेटवर्कमा जोड्ने तर्कसहित बीआरआईमा हस्ताक्षर गर्नुपर्ने जानकारहरुको तर्क छ ।
चीनले विश्वलाई यस परियोजनामार्फत स्थल र जल दुवै भागबाट व्यापार, निर्माण तथा कनेक्टिभिटी गर्ने र यस परियोजनामा सहभागी राष्ट्रको आर्थिक, सामाजिक विकासका लागि सहकार्य गर्ने उद्देश्य लिएका छन् । जस अनुसार चीनले विदेशमा गर्ने लगानी तथा आर्थिक सहयोग यसै परियोजनामार्फत गर्दै आइरहेको छ । यस बाहेक प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने, नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने, बेजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । यद्यपि, प्रधानमन्त्री ओलीको यो भ्रमणलाई बीआरआईसँग जोडेर भइरहेका टिकाटिप्पणी तथा विश्लेषणका बीच बीआरआईको विषय कसरी किनारा लाग्छ भन्ने अझै निश्चित नहुँदा उनको भ्रमण पछि नै थप स्पष्ट हुने देखिन्छ । आगामी विहीबार स्वदेश प्रधानमन्त्री ओली स्वदेश फर्किने छन् । त्यसपछि चीन भ्रमणको उपलब्धिबारे लेखाजोखा हुने नै छ ।
प्रतिक्रिया