अमेरिकाले ताइवानलाई ठूलो परिमाणमा हतियार बेच्ने भएपछि चीनले असन्तुष्टि जनाएको छ । चीनको विदेश मन्त्रालयका अनुसार अमेरिकी रक्षा विभागले ताइवानलाई ३८५ मिलियन अमेरिकी डलर बराबरको हतियार बेच्न स्वीकृति दिएको छ । यसले चीन ताइवानबीच झनै तनाव बढ्ने संकेत गरेको छ ।
विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनको सम्बन्ध बेलाबेलामा निकै चर्चाको शिखरमा पुग्ने गरेको छ । यी दुुई देशबीच शीत युद्धदेखि व्यापार युुद्धसम्म मिडियाको हेडलाइन बन्ने गरेका छन् । पछिल्लो पटक चीन र अमेरिकाको सम्बन्धले थप प्राथमिता पाएको छ ।
३८५ मिलियन अमेरिकी डलर बराबरको हतियार ताइवानलाई बेच्ने स्वीकृति दिएपछि दुुई देशको सम्बन्धममा थप तिक्तता निम्तिएको हो । अमेरिकाले ताइवानलाई एफ–१६ लडाकु विमान दिने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नोभेम्बर ३० मा ताइवानलाई अमेरिकी हतियार बेच्न स्वीकृति दिएको हो । चीनको विदेश मन्त्रालयले ताइवानलाई अमेरिकी हतियार बिक्रीले ‘एक चीन नीति’का साथै चीनको सार्वभौमसत्ता र सुरक्षा हितको गम्भीर उल्लङ्घन गरेको भन्दै तीव्र असन्तुष्टि जनाएको छ ।
चीनले यो हतियार बिक्रीलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको पनि बताएको छ । चीनले ‘ताइवान स्वतन्त्रता’ को धारणाले पृथकतावादी शक्तिहरूलाई गलत सन्देश दिन सक्ने बताएको छ । साथै, यो चीन र अमेरिका बिचको ताइवान जलडमरूमा शान्ति र स्थिरताका लागि पनि खतरनाक हुने जनाएको छ । चीनले भनेको छ, ‘ताइवानलाई हतियार बेच्ने निर्णयले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने अमेरिकी नेताहरूको प्रतिबद्धतालाई पनि खण्डन गर्दछ । चीनले अमेरिकाको यो कदमको निन्दा गर्दछ र कडा विरोध प्रकट गर्दछ ।’ चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ताइवानलाई हतियार उपलब्ध गराउन तुरुन्तै बन्द गर्न अपिलसमेत गरेको छ ।
चीनले राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्न कडा र प्रतिकारात्मक कदम चाल्ने जनाएको छ । यता अमेरिकी रक्षा मुख्यालय पेन्टागनको डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले हतियार बिक्रीको बारेमा जानकारी दिँदै यसमा ३२० मिलियन डलरको स्पेयर पार्ट्स र एफ–१६ लडाकु विमानको सम्झौता पनि समावेश गरेको जनाएको छ । यसभित्र ताइवानलाई अनुमानित ६५ मिलियन डलरमा मोबाइल सब्सक्राइबर उपकरणहरूसमेत बिक्री गर्न स्वीकृति दिएको छ ।
यस बिक्रीको बारेमा ताइवानको रक्षा मन्त्रालयले ताइवान र संयुक्त राज्य अमेरिकाले आफ्नो सुरक्षा साझेदारीलाई सुदृढ गर्न जारी राख्ने उल्लेख गरेको छ । चीनले ताइवानलाई आफ्नै भूमि मान्दै आएको छ । यस क्षेत्रको सुरक्षा दायित्व चीनकै जिम्मेवारी भएको चिनियाँ अधिकारीहरुले भन्दै आएका छन् । त्यसो त, ताइवानले एक अलग राष्ट्रको रुपमा विश्व समुदायमा पहिचान नै बनाइसकेको छैन । अर्थात् चीनसँग ताइवानको ‘एक देश दुई प्रशासन’को सम्बन्ध रहिआएको छ । यसलाई अमेरिकाले हस्तक्षेपको रुपमा हेर्दै आएको छ । अमेरिकाले हतियार उपलब्ध गराउने नीतिले फेरि एक पटक अमेरिका र चीनबीच संकट चुलिएको छ ।
प्रतिक्रिया