Breaking

प्रधानमन्त्री ओलीको चीन भ्रमण विगतका समझदारी कार्यान्वयनमा केन्द्रित हुने

योहो संवाददाता

काठमाडौँ— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमण छोटो हुने बताए ।

‘डिसेम्बर पहिलो साता हुन्छ भ्रमण, एकदम छोटो भ्रमण हुन्छ यसचोटी, दुई पक्षीय भेटघाट र वार्ता सकेर उहाँ फर्किनुहुन्छ’, उनले भने, ‘मूलत विगतमा चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यू चीन भ्रमण गर्दा भएका समझदारी कार्यान्वयनमै हाम्रो जोड हुनेछ । त्यस अलावा स्वभाविक रुपमा दुई पक्षीय हितका विषयमा कुराकानी हुनेछ ।’

प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको अधिकतम हित हुने गरी समझदारीहरु हुने उनले बताए । उपमहासचिव ज्ञवालीले कांग्रेस–एमाले सम्मिलित संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको बताए । ‘दुई दलबीच संवाद, सहकार्य निर्माण गर्ने उद्देश्यले संयन्त्र बनेको हो । त्यही भ्रमणका लागि बनाएको संयन्त्र होइन’, उनले भने ।

आज बसेको सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिको बहावलाई विचार गर्दै दुबै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन सुझाव दिएको छ । त्यस्तै प्रधानमन्त्रीको चीन भ्रमण राष्ट्रिय हितमा रुपान्तरित गर्न सरकारलाई सफलता प्राप्त होस् भन्ने शुभेच्छा पनि दिएको उपमहासचिव ज्ञवालीले बताए ।