Breaking

दानको जग्गामा भवन निर्माण नगर्न एमालेलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

योहो संवाददाता

काठमाडौँ— सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।

अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालय भवन निर्माण यथास्थितिमा राख्ने अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले आदेशको लिखित रुप प्राप्त भइनसकेको बताए ।

सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन माग गरेको छ ।

गत दशैंको फुलपातीको दिन कलंकीमा एमाले पार्टी कार्यालयको शिलान्यास भएको थियो, त्यहाँ उपस्थित व्यवसायी मीनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गरेका थिए । यो घटना सार्वजनिक भएपछि एमालेको आलोचना भएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत ३ जनाले निर्णय खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।