समाचार

निर्मला कुर्मीलाई न्याय माग्दै कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन

योहो संवाददाता

काठमाडौँ— नेपालगञ्जकी निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले सत्तारुद्ध नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ । खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका थिए । तर, सुनुवाइ नभएको भन्दै उनले सत्तारुद्ध दल कांग्रेसको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन थालेकी हुन् ।

‘आज साँझ ५ बजेसम्म धर्ना दिने र निर्मला कुर्मीको न्यायका लागि ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘सरकारले न्याय नदिएसम्म आन्दोलन गरिरहन्छौं ।’ निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानलाई लिएर सरकारले उनीसँग चार पटक वार्ता र सहमति गरिसकेको छ ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद् बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने भनेको छ । प्रहरीले यो मामलामा लामो समयदेखि अनुसन्धान गरिरहेको बताए पनि अदालतमा मुद्दा पुगेको छैन ।

‘हाम्रो माग पनि प्रहरीले सरकारी वकिल र सरकारी वकिलले अदालतमा मुद्दा टेकाइदियोस् भन्ने हो’ खानले भनिन्, ‘यही विषयमा कांग्रेस नेताहरुलाई हामी ध्यानाकर्षण पत्र पनि बुझाउनेछौं ।’