समाचार

रुस–युक्रेन युद्ध फेरि चर्कियो, पुटिनको मिसाईल धम्कीले अमेरिका–बेलायत तरंगित

योहो संवाददाता

काठमाडौँ – सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण थालेपछी चर्किएकोे रुस–युक्रेन युद्धले
नयाँ मोड लिने संकेत गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले नेटोसँगै युद्धको चेतावनी दिएपछि युद्ध थप चर्किने देखिएको हो ।

इरानले हाकाहाकी रुपमा हतियारसहित रुसलाई सहयोग गरेपछि रुस–युक्रेन युद्ध थप चर्किने देखिएको छ। रुसी बलसँग ठूलो मात्रामा इरानी ड्रोनहरू रहेको खुलेको छ । इरानले रुसलाई लामो दूरीका मिसाइलहरू दिइरहेको देखाउँदै युक्रेनले अमेरिका, बेलायतसहित सहयोगी देशसँग सोही प्रकृतीकोमिसाइल प्रयोगको अनुमति मागिरहेको छ ।यद्यपी अमेरिका भने रुसविरुद्ध लामो दूरीका मिसाइल प्रयोग गर्न अनुमति दिने विषयमा पर्ख र, हेरको अवस्थामा छ।

यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले नेटोसँगै युद्धको चेतावनी दिइसकेकाछन् । युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने विषयमा चलिरहेको छलफलका बीच पुटिनले एक टेलिभिजनमा कुराकानी गर्दै युक्रेन युद्धमा नेटो देशहरू, अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता रहेको बताउँदै पुटिनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिए युद्धमा नेटोसँग प्रत्यक्ष संघर्ष गर्नुपर्ने बताएका हुन् ।

यस्तै रुसले ६ जना बेलायती कूटनीतिज्ञहरूलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ ।रुसको गुप्तचर एजेन्सी एफएसबीले उनको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको समेत बताएको छ । बेलायतको विदेश मन्त्रालयले आफ्ना कूटनीतिज्ञहरूविरुद्ध लगाइएको आरोपलाई पूर्णतया आधारहीन भएको बताएको छ।
यसैबीच, रुसी राष्ट्रपति पुटिन र वरिष्ठ रक्षा अधिकारी सर्गेई शोइगुले बिहीबार सेन्ट पिटर्सबर्गमा इरानका राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली अकबर अहमदियनसँग भेटवार्ता गरेका छन् । इरान इन्टरनेसनलको रिपोर्टमा दुई देशबीचको सम्बन्ध गहिरो पार्ने संकेतका रूपमा यसलाई अर्थ्याइएको छ ।
रुसलाई मिसाइल दिएको भन्दै अमेरिका र युरोपेली सहयोगीले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको दुई दिनपछि रुसको सरकारी मिडियाले सम्बन्धलाई बढावा दिन पुटिनले इरानका सर्वोच्च नेताको प्रशंसा गरेको उल्लेख गरेको छ ।

शुक्रबारराष्ट्रपति पुटिनको धम्कीपछि लामो दुरीको मिसाइलबारे अमेरिका–बेलायत बैठक बसेका थिए। तर बेलायत र अमेरिकाले युक्रेनलाई रुससम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने विषयमा कुनै निर्णय भने गर्न सकेका छैनन् ।बेलायती प्रधानमन्त्री सर केयर स्टारर र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शुक्रबार वासिङ्टनमा भेट भएको थियो । दुई देशका सरकार प्रमुख बीचको यो भेटमा ह्वाइट हाउसले रुसले इरान र उत्तर कोरियाबाट प्राप्त गरेको घातक हतियारप्रति गहिरो चिन्ता व्यक्त गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएकाछन् ।त्यहाँ थप युद्ध बढ्ने खतरा रहेको तर्फ पनि विश्लेशण गरिएको छ।

किनकी हालसम्म अमेरिका र बेलायतले युक्रेनलाई रुसभित्र प्रहार गर्न सक्ने लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएका छैनन् । युक्रेन अमेरिका र बेलायतको बलमा रुससंग युद्ध लडिरहेको छ। यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस सम्बन्धमा कीभका पश्चिमी सहयोगीहरूलाई बारम्बार आग्रह गरेका छन।उनले यो युद्ध अन्त्य गर्ने एक मात्र तरिका भएको बताएकाछन् । रुसले युक्रेन विरुद्ध प्रत्यक्ष युद्ध सुरु गरेदेखि, युक्रेनी शहरहरू र फ्रन्टलाइनहरू दैनिक रूसी बमबारीको निशाना बनेका छन्।

यसअघि गत महिना रुसभित्र युक्रेनी सेनाले गरेको अप्रत्याशित आक्रमणपछि बेलायतले युक्रेनलाई आफूले उपलब्ध गराएको ‘आत्मरक्षा हतियार प्रयोग गर्ने पूर्ण अधिकार’ रहेको र उसले ‘रुस भित्र सैन्य कारबाही बन्द गर्ने’ नभएको बताएको थियो।यद्यपि, यसमा युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमाना बाहिरका क्षेत्रमा लामो दूरीको स्टर्म छाया मिसाइलहरूको प्रयोग समावेश गरिएको छैन।सन् २०२२ को सेप्टेम्बरमा रूसी रक्षा मन्त्रालयले युद्धमा पाँच हजार ९३७ सैनिक मारिएको बताएको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए ।