Breaking

अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, धेरैतिर सडक अवरुद्ध


काठमाडौँ – बुधबार रातिदेखिको अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ। सुदूरपश्चिमकार् पहाडी भेगमा पहिरोका कारण धेरैतिर सडक अवरुद्ध बनेको छ।

अविरल वर्षाले तराईका जिल्ला कैलाली र कञ्चनपुरमा कतिपय बस्ती डुबानको जोखिममा छन्।

सुदूरपश्चिमका ७ पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध बनेको प्रहरीले जनाएको छ। गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा पहिराले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भीमदत्त राजमार्ग अन्तगर्त अमरगढी नगरपालिका–५ र सोही पालिकाको वडा नम्बर ६ मा पर्ने भालुमारेमा पनि पहिरो खसेको छ। डडेल्धुरा डोटी जोड्ने केआई सिंह राजमार्ग अन्तगर्त गन्यापधुरा गाउँपालिका–१ रडुवामा पनि पहिरो सडक अवरुद्ध छ।

आलिताल गाउँपालिका–८ सुनखोलामा पहिरोले बुडर जोगबूढा सडकखण्ड पूर्ण रुपमा बन्द छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिकामा पर्ने भीमदत्त राजमार्ग सडकको ६ ठाउँमा पहिरो खसेको छ। जसले यातायातका साधन चल्न सकेका छैनन्।

अझै पनि वर्षा नरोकिएको कारण पहिरो खस्ने तथा तराईमा जल सतहले सतर्कता तह पार गरिरहेकोले सजगता अपनाउन आग्रह गरिएको छ।