काठमाडौँ— देशैभरिका सहकारी समस्या समाधानका लागि गठित संसदीय छानविन समितिको थपिएको १५ दिन सकिन अब मात्र ६ दिन बाँकी छ । म्याद सकिन लागेको संसदीय समितिमा थप उजुरी परेका छन् । कांग्रेस उपसभापति एवं सांसद धनराज गरुङ र उनकी पूर्वश्रीमती ज्योति गुरुङविरुद्ध सहकारीको रकम अपचलन गरेको उजुरी परेसँगै राजनीतिक वृत्त नै तरंगित बन्न पुगेको छ ।
‘ओराली लागेको हरिणलाई बाच्छोले पनि लेखेट्छ’ भने झै कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा मुछिएसँगै चौतर्फी घेराबन्दीमा परेका छन् । उनीविरुद्ध सहकारी ठगी प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिमा उजुरी परेको छ । सत्ता घटक दल कांग्रेसका उपसभापति गुरुङविरुद्ध समितिमा उजुरी परेपछि अहिले उनी दबाब र तनाब दुवै झेलिरहेका छन् । यतिसम्मकी उनकै पार्टी कांग्रेसले समेत उनलाई काँध हाल्न चाहेको देखिँदैन । पार्टी र सत्ता पक्षकै नेताहरु गुरुङको बचाउमाभन्दा पनि अनुसन्धानको दायरामा आउनु पर्ने पक्षमा उभिएका छन् । कांग्रेस महामन्त्री गगन थापाले यस विषयमा प्रष्ट धारणा राखिसकेका छन् । उनले गुरुङमाथि निष्पक्ष छानबिन हुनु पर्ने र दोषी देखिए कारबाहीको दायरामा ल्याइनु पर्ने बताइसकेका छन् ।
ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको १४ करोड ८१ लाख हिनामिना गरेको आरोपमाकांग्रेस उपसभापति गुरुङविरुद्ध गत १४ साउनमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो । उनीसहित उनकी पूर्वश्रीमती ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाको नामसमेतउजुरी परेको थियो । प्रदेश रजिस्ट्रारको कार्यालयमा उजुरी दिनुअघि मितेरी सहकारीले रकम हिनामिनाको सम्बन्धमा आन्तरिक छानबिन गरेको थियो । उक्त छानबिनले १२ करोड ५० लाख हिनामिनामा धनराजका पूर्वपत्नी ज्योतिको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको थियो । हिनामिनामा धनराजसहित ज्योतिबहादुर, सुजन, हितमान र प्रकाशको संलग्नता ठहर गरेको थियो । यस्तै सहकारीको वार्षिक अडिटमा पनि रकम हिनामिना भएको निष्कर्ष निकाल्दै त्यसमा यिनै ६ जनाकोसंलग्नता देखाइएको थियो ।
सहकारीले १२ करोड ५० लाखको ब्याजसमेत जोड्दा ज्योति र उनको समूहबाट१४ करोड ८१ लाख असुल गर्नुपर्ने निर्धारण गरेको थियो । योसँगै सहकारीका तर्फबाट सचिव बोधविक्रम थापाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा गुरुङ र उनकी पूर्वपत्नीविरुद्ध उजुरी दिएका थिए ।ज्योति गुरुङ ०५७सालमा मितेरी सहकारीमा बचत संकलकका रूपमा प्रवेश गरेकी थिइन् । २०७० सालमा सहकारीको कोषाध्यक्ष बनेकी उनी फरार हुनुअघिसम्म महाप्रबन्धक पदमा कार्यरत थिइन् । २९ फागुन २०७६ मा धनराजसँग सम्बन्धविच्छेद गर्नुअघि उनले धनराजकै नाममा सो सहकारीबाट ऋण झिकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धानबाट खुलेको स्रोतले बतायो । कांग्रेसमा प्रभाशाली नेताका रुपमा चिनिएका धनराज अहिले पत्नी कै कारण रुँदै हिँड्नु पर्ने अवस्थामा पुगेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो बिग्रेको वैवाहिक सम्बन्धबारे उनले दुखेसो पोखे ।
सीआईबीले घटना अनुसन्धानमा आनाकानी गरेपछि सहकारीका सचिव बोधविक्रम थापा उजुरी बोकेर समस्याग्रस्त सहकारीबारे छानबिन गर्न सरकारले गठन गरेको एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको कार्यालय पुगेका थिए । उक्त उजुरीमा पनि धनराजको नाम उल्लेख थियो । समितिले उक्त सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग बयान लिएपछि मात्रै घटना सार्वजनिक भएको थियो । कुम्भराजले सहकारीको रकम हिनामिनामा ज्योतिसहित धनराजको पनि संलग्नता रहेको बयान दिएका छन् । सम्बन्धविच्छेदपछि पनि ज्योतिले हिनामिना गरेको रकम असुली सम्बन्धमा धनराजलाई कार्यालयमै बोलाएर छलफल भएको उनको बयान छ । धनराजले हिनामिना भएको रकम असुलीमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको कुम्भराजले बयानमा भनेका छन्।
सहकारीबाट हिनामिना गरिएको रकम ‘बिट क्वेन’मार्फत ज्योतिले थाइल्यान्ड लगेको विषयसमेत कुम्भराजले समितिलाई दिएको बयानमा उल्लेख छ । यसले झनै यो विषय पेचिलो बन्दै गएको छ । सहकारी ठगीविरुद्ध सदनमा यसअघि चर्को आवाज उठाउँदै आएका धनराजमाथि नै उजुरी परेपछि सदनमा समेत उनको विषयमा सांसदहरुले आवाज उठाएका छन् । सांसदहरुले यथाशिघ्र्र छानबिन गर्न दबाब दिँदै संसदमा आवाज उठाइरहेका छन् ।
धनराजविरुद्ध रास्वपाका सांसदहरुले चर्को आवाज उठाएको देखिन्छ । धनराज रास्वपा सांसदहरुको तारो बन्नुको कारण यसअघि रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी प्रकरणमा संसदीय छानबिन हुनु पर्नेभन्दै उनीलगायत कांग्रेस सांसदहरुले सदन अवरुद्ध गर्नेसम्मको गतिविधि गरेका थिए । सोही तुषको बदला लिने पक्षमा रास्वपा सांसदहरु देखिन्छन् ।
सीआईबीमा परेको जाहेरीमा उल्लेख भएअनुसार मितेरीका तत्कालीन महाप्रबन्धक ज्योतिले कम्पनीमा लगानी गर्ने भन्दै ज्योतिबहादुरको नाममा मनोमानी ढंगले १२ करोड ५० लाख रुपैयाँ ऋण झिकेकी थिइन् । रकम निकासा गर्न ज्योतिलाई मितेरीका कर्मचारी सुजन, हितमान र प्रकाशले सघाएका थिए । तर, उक्त रकम मितेरीमा हालसम्म फिर्ता भएको देखिँदैन । रकम उठाउन मितेरीले पटक–पटक प्रयास गरेको थियो । तर, ज्योति अमेरिका फरार भएपछि मितेरी सहकारी संकटमा परेको थियो । जुन भड्खालोमा धनराज लपेटिएका छन् । कांग्रेसको उपसभापति र सांसद जस्तो गरिमामय पदमा आसिन व्यक्तिको जीवनलाई पूर्वश्रीमती ज्योतिले अन्धकार बनाएर आफू भने अमेरिका भासिएकी छन् । सहकारीको रकम अपचलनको दलदलमा फसेका धनराज गुरुङलाई निकाल्न ठूलै शक्तिको चलखेलले समेत नभ्याउने देखिन्छ ।
प्रतिक्रिया