अन्तर्राष्ट्रिय

ट्रम्प र कमलाको रोचक डिबेट, खुइल्याउनसम्म खुइल्याए, पुटिन र सीमै भिडे, भोट तान्ने होडबाजी


काठमाडौँ— अमेरिकी राष्ट्रपति निर्वाचनमा होमिएका उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच पहिलो प्रत्यक्ष टेलिभिजन बहस सम्पन्न भएको छ । पहिलो पटक आमनेसामने भएका ट्रम्प र ह्यारिसबीचको ‘प्रेसिडेन्सियल डिबेट’ एजेन्डामाभन्दा व्यक्तिगत आरोपप्रत्यारोपमै केन्द्रित रह्यो ।


अमेरिका हाँक्ने लक्ष्यसहित राष्ट्रपति पदका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र कमला ह्यारिस पहिलो पटक आमनेसामाने भएका छन् । पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला मंगलबार पहिलो टेलिभिजन बहस ‘प्रेसिडेन्सियल डिबेट’मा सहभागी भएका हुन् । ट्रम्प र ह्यारिसबीच ९० मिनेट चलेको बहसमा एजेन्डामा कम व्यक्तिगत आक्षेप–आरोपप्रत्यारोप धेरै हाबी रह्यो । उम्मेदवार घोषणा लगत्तै एकले अर्कालाई खुल्याउन उद्यत ट्रम्प र कमला बहसमा एक–अर्काप्रति थप आक्रमक देखिए । एकले अर्कालाई झुठो करार गर्न उद्यत रहे । ट्रम्पले कमलालाई इतिहासकै खराब उपराष्ट्रपतिको संज्ञा दिए भने कमलाले ट्रम्पले बनाएको फोहोर सफा गर्दा नै समय बितेको तर्क गरिन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारहरुले अर्थतन्त्र, आप्रवसन र गर्भपतन अधिकार मुख्य चुनावी एजेन्डा बनाएका छन् । यी एजेन्डाहरुमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले आ–आफ्नो मुद्दामा चर्को रूपमा भिडे । अर्थतन्त्रबारे पूर्वराष्ट्रपति ट्रम्पले अन्य देशहरूमाथि कर लगाउनु पर्ने तर्क गर्दा उपराष्ट्रपति ह्यारिसले लघु उद्यममा जोड दिने बताइन् । आप्रवासन मुद्दामा आक्रामक देखिएका ट्रम्पको मुख बन्द गर्न ह्यारिसले ट्रम्पमाथि अदालतमा चलिरहेका कैयौँ मुद्दाहरुको दृष्टान्त दिँदै लपेट्न भ्याइन् । चुनावको अर्को महत्वपूर्ण एजेन्डा गर्भपतन अधिकारका विषयमा ट्रम्पले यसलाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको तर्क गर्दा ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको स्याहारको विषयलाई नकार्ने तर्क गरेकी छन् ।

टेलिभिजन बहसका क्रममा दुई उम्मेदवारबीच थुप्रै विषयमा अन्तरविरोध देखिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पले रुस युक्रेन युद्धमा अमेरिकाले ठाडो हस्तक्षेप गर्न नहुने वकालत गर्दै आएका छन् । युक्रेनलाई अमेरिकाले सैन्य सहयोग गर्न नहुने उनको धारणा छ । आफू राष्ट्रपति भएमा रुस युक्रेनबीच शान्ति सम्झौता गराउनतर्फ आफूले भूमिका खेल्ने उनले बताउने गरेका छन् । कमला भने प्रष्टरुपमा युक्रेनको पक्षमा उभिएकी छन् । उनले युक्रेनमा अमेरिकी सैन्य सहायतालाई निरन्तर समर्थन गर्दै युक्रेनले लोकतन्त्र र कानुनी शासनका लागि संघर्ष गर्दै आएको बताएकी छन् । ट्रम्पले बाइडेनमा नेतृत्व क्षमताको कमीले गर्दा रुसले युक्रेनमाथि हमला गरेको आरोप लगाएका छन् । तर ह्यारिसले भने ट्रम्पको यो धारणाप्रति प्रतिवाद गरेकी छन् । यदि अहिले ट्रम्प अमेरिकाको राष्ट्रपति भएको भए रुसी राष्ट्रपति पुटिनले युक्रेनमा राज गरिरहेको हुने दाबी गरिन् । पुटिन त्यतिमा नरोकिने भन्दै उनले पुटिनको मनसाय युक्रेनमा मात्र जित हासिल गर्नु नरहेको समेत बताइन् ।


यसक्रममा दुई उम्मेदवारबीच चीन अमेरिका सम्बन्धबारे पनि चर्चा भएको छ । चीनसँगको सम्बन्धलाई लिएर ह्यारिस ट्रम्पप्रति आक्रामक शैलीमा प्रस्तुत भइन् । ट्रम्पले बाइडेन प्रशासनले चीनबाट आयातित वस्तु तथा सेवामा लगाएको करको विषय उठान गर्नासाथ ह्यारिसले ट्रम्पको चीनसँग सम्बन्धित नीति र कोभिड–१९ महामारीमा उनको चीन लक्षित धारणाको विषयमा प्रश्न उठाइन् । बहसका क्रममा ह्यारिसले ट्रम्पसँग अमेरिकाको आर्थिक विकासका लागि कुनै योजना नै नभएको आरोप लगाइन् । ट्रम्पले आफ्नो र सीमित केही धनी व्यवसायीहरुलाई मात्र फाइदा पुग्ने काम गर्ने ह्यारिसको दाबी थियो । यता ट्रम्पले भने बाइडेनको पालामा अमेरिकाको हालसम्मकै खराब आर्थिक अवस्था रहेको आरोप लगाए । अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रेसिडेन्सियल डिबेटले ठूलो अर्थ राख्छ । यसको प्रभाव कति छ भने प्रेसिडेन्सियल डिबेटमा कमजोर ढंगले प्रस्तुत भएकै कारण राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको चुनावी रेसबाट पछि हट्नु परेको थियो । मंगलबार भएको प्रत्यक्ष बहसमा कमला हाबी भएकी छन् । मत सर्वेक्षणमा ट्रम्पलाई टक्कर दिइरहेकी कमला टेलिभिजन बहसपछि थप लोकप्रिय बनेकी छन् । अमेरिकी नागरिक ५ नोभेम्बरका दिन नयाँ राष्ट्रपति चयनका लागि तयार भएर बसेका छन् । टेलिभिजन बहसपछि चुनावी सरगर्मी बढेको छ भने प्रतिस्पर्धा थप रोचक बनेको छ ।