राजनीति

धनराज गुरुङको चुनौती : म माथि प्रश्न उठाइयो, छानबिन गर्दा हुन्छ

योहो संवाददाता

काठमाठौँ— नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ज्योतिसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै कांग्रेस नेता धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका थिए ।

गुरुङले भने आफू छानबिनका लागि तयार रहेको बताए । ‘संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ’, उनले भने । विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि कुनै छानबिन गर्न माग गरे । ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु’, उनले भने ।

अहिले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको गुरुङले बताए ।

ज्योति गुरुङसँग सम्बन्ध राम्रो नभएपछि सम्बन्धबिच्छेद गरेको र १० वर्षको बच्चा आफैंले हुर्काएको भन्दै गुरुङले यो सम्बन्धविच्छेद नक्कली भन्ने रास्वपा सांसद पराजुलीको भनाइको खण्डन गरे । ‘जसले नक्कली कुरा गर्छ, त्यसले अरुलाई नक्कली देख्नु स्वभाविकै हो’, उनले उक्त सम्बन्धबिच्छेदलाई नक्कली प्रमाणित गर्न चुनौती दिए ।