Breaking

लुम्बिनी प्रदेशका सांसद केसी सम्बन्धविच्छेदमा किर्ते कागज पेस गरेको आरोपमा जेल चलान


काठमाडौँ— लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुम पूर्व–१ ‘क’बाट निर्वाचित सांसद केसी पुरानो मुद्दामा आफैँ अदालतमा आत्मसमर्पण गरेर जेल चलान भएका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद केसीले श्रीमतीसँगको सम्बन्धविच्छेद मामिलामा अदालतको पत्र भन्दै किर्ते कागज बनाएका थिए । त्यो कागज श्रीमतीलाई पठाएका थिए । नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त मुद्दामा उनी दोषी ठहर भएका हुन् । ०४९ असार ९ गते एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना हुने फैसला गरिएको थियो ।

त्यसपछि फरार रहँदै आएका केसी आज आफैँ रुकुम पूर्व जिल्ला अदालतमा हाजिर हुन पुगेका थिए । उनको हाजिरीलाई आत्मसमर्पण स्वीकार गर्दै अदालतले कैद भुक्तानका निम्ति जेल पठाएको हो ।