देश

दुर्घटना न्यूनीकरणका लागि चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न भौतिकमन्त्रीको निर्देशन


काठमाडौँ— भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

आज सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा उनले चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुरिसक्न निर्देशन दिए । जोखिममा रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न समेत उनले निर्देशन दिए ।

उनले सवारी नियम उल्लंघन नियन्त्रण, दुर्घटना भइहाले उद्धार र अस्पतालसम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा रहन आग्रह गरे । दशैं, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको उनको भनाइ छ ।

चाडपर्वको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने उनले बताए । सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै उनले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइने समेत बताए ।

सुरक्षित सडक, चुस्त सवारीसाधन, दक्ष चालक र सचेत यात्रुहरू भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्वद्ध निकायहरू बीच सहकार्यको खाँचो रहेको बताए । मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्व नजिक आई रहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

लामो दुरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन समेत उनले जोड दिएकार्यक्रममा सडक सुरक्षाका विज्ञ डा. पार्थमणि पराजुली, सरोकुमार प्रधान लगायतले सडक सुरक्षा परिषद्‍लाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभाग लगायत विभिन्न निकायका अधिकारीहरूले सडक सुरक्षाका लागि भइरहेका प्रयास र योजना बारेमा प्रकाश पारेका थिए ।