आज हरितालिका तिज, हिन्दु महिलाहरुले हर्षोउल्लासका साथ मनाएका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी भगवान शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ । तिजको अवसरमा पशुपतिनाथसहित देशैभरीका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको थियो ।
हरितालिका तिज, नेपाली नारीका लागि विशेष पर्वको रुपमा चिनिन्छ । यो पर्वमा महिलाहरु रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् भने तिजका लोकभाका, गीत संगीतसहित नाचगान गर्नु मुख्य विशेषता हुन् । साथै यस पर्वको धार्मिक मान्यता पनि रहिआएको छ ।
अघिल्लो दिन दर खाएपछि भोलिपल्ट तिजको दिन निराहार व्रत बसी भगवान शिवको पूजा आरधना गरी हर्षोउल्लासका साथ तिज पर्व मनाइन्छ । तिजका दिन महिलाले लगाउने रातो रङ्गको पहिरनलाई सुख, समृद्धि एवम् साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई शक्ति प्रदान गर्ने धार्मिक विश्वाससमेत छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो ।
शुक्रबार देशभरका शिव मन्दिरसहित पवित्र धार्मिकस्थल पशुपतिनाथ मन्दिर परिसरमा महिला दर्शनाथीहरुको घुँइचो लाग्यो । सत्य युगमा भाद्र शुक्ल तृतीयाको दिन राजा हिमालयकी छोरी पार्वतीले आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गरी आफ्नो मनोकांक्षा पूरा गरेको धार्मिक विश्वास अनुसार हरितालिका तिजका दिन शिवको पूजा आरधाना गरी मनाउने गरिन्छ । व्रतालु दर्शनार्थीहरुको बिहानैदेखि पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो । दर्शनका लागि महिला व्रतालुहरुको लामो लाइन लागेको थियो भने मन्दिर परिसरमा तिजका लोकभाकामा नाचगान गर्नेहरुको पनि उत्तिकै घुइँचो थियो ।
पछिल्लो समय तिजमा साउन्ड सिस्टममार्फत रेकर्डेड गीत संगीत घन्काएर नाँच्ने चलन बढ्दै गएको छ । यसका साथै दिदीबहिनीहरु जम्मा भएर आफैँ गीत गाउँदै नाचगान गरी रमाइरहेका पनि देखिन्थे । तिजको गीतमा रमाइरहँदा मनोरञ्जन मात्र नभइ आपसी सद्भाव र एकताको सन्देशसमेत दिइरहेका थिए । विशेषत तिजमा गाइने गीतहरुमा वर्षदिन भरी चेलीले भोग्नु परेका पीडाका कथा व्यथाहरु व्यक्त गरिन्छन् ।
विवाहीत महिलाले आफू र श्रीमान्को दीर्घायूको कामनासहित व्रत बस्ने गर्छन् भने अविवाहित महिलाले महादेव जस्तै वर पाउने मनोकामनासहित व्रत बस्ने परम्परा रहिआएको छ । अघिल्लो दिन राति दर खाएकाहरूले तिजको दिन निराहार व्रत बसी उमा–महेश्वरको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक जनविश्वास छ ।
तिज आफैँमा एक सुन्दर पर्व हो, यस दिनदिन व्रत बस्नुमा वैज्ञानिक हिसाबले समेत फलदायी मानिन्छ । यद्यपि पछिल्लो समय तिजमा हुने खानपान तथा मनाउने संस्कार भड्किलो बन्दै गएको छ । यसले तिजको महत्वमाथि नै प्रहार गरिरहेको र मौलिक संस्कृतिमा विकृति छाउन थालेको भन्दै धेरैले चिन्ता व्यक्त गर्दै आएका छन् । तिज मात्रै नभइ कुनै पनि पर्वको महत्व र धार्मिक मूल्यमान्यतालाई जगेर्ना गर्दै चाड पर्व मनाउनु र मौलिकता बचाउनु सबैको दायित्व हो ।
प्रतिक्रिया