Breaking

फेसबुकले फिर्ता गर्‍यो आफैँले हटाएको बालेनको स्टाटस


काठमाडौँ— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्टाटस फिर्ता भएको छ । बालेनले आफूहरूको अनुरोध गरेपछि फेसबुकले पोस्ट फिर्ता गरेको बताएका छन् ।

आफ्नो स्टाटस फेसबुकले फिर्ता गरेको प्रमाणस्वरूप बालेनले कमेन्ट बक्समा एउटा स्क्रिनसट राखेका छन् । जहाँ फेसबुकले आफूहरूले पोस्टलाई फेरि रिभ्यू गरेको र कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको नदेखिएको बताएको छ ।

गत मंगलबार (भदौ १८ गते) अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहिको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका थिए । त्यसपछि बालेनका समर्थकहरूले प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई अनफलो गर्ने अभियान नै चलाएका थिए ।

गत आइतबार (भदौ १६ गते) मेयर बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।