Breaking

मृत फेला परेका दुई बालिकाकी आमा अस्मिता झापाबाट पक्राउ

योहो संवाददाता

काठमाडौँ— मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई बालिकाकी आमा अस्मिता पौडेल कार्की पक्राउ परेकी छन् ।

प्रहरीले उनलाई आज झापाबाट पक्राउ गरी विराटनगरस्थित कोसी अस्पताल भर्ना गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । दुई छोरीको विष सेवन गराई हत्या भएको आशंकामा प्रहरीले उनीसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने, “अस्वस्थ्य अवस्थामा फेला परेकाले अस्पताल भर्ना गरेका छौँ । केही सन्चो भएपछि घटनाबारे सोधपुछ र बयान लिने काम हुनेछ ।” प्रहरीका अनुसार, पक्राउ परेकी अस्मिता शारीरिक रूपमा निकै कमजोर देखिएकी छिन् । धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी दुई छोरी एक वर्षीया आइका र तीन वर्षीया अर्पणा कार्की सुन्दरहरैंचाको केराबारीमा मृत फेला परेकै दिनदेखि बेपत्ता भएकी थिइन् ।

उनीहरू स्थानीय मालती टोलमा डेरा गरी बस्दथे । नजिकै घरसमेत निर्माण गरिरहेका थिए । अर्जुनले प्रहरीसमक्ष आफ्नी पत्नीले मोबाइलमा ‘तेरा छोरी मारी दिइसकेँ, म पनि मर्छु’ भनेर म्यासेज पठाएको बयान दिएका छन् ।

घटनालाई सुक्ष्म ढंगले विश्लेषण गरी अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए । म्यासेजको सत्यताबारे समेत अनुसन्धान हुने प्रहरीको भनाइ छ । दुई छोरी केरा बगानमा अंगालो मारेको अवस्थामा मृत भेटिएका थिए । नजिकै विषादीको बट्टा समेत फेला परेको थियो ।नयाँ घरमा पानी हाल्ने विषयमा विवाद भएपछि पाँच दिनअघि अस्मिता दुई छोरी लिएर घरबाट हिँडेको थिइन् । पछि केरा बगानमा छोरीहरू मृत फेला परेका थिए । अर्जुन र अस्मिताबीच २०५९ सालमा विवाह भएको थियो ।