समाचार

आज प्रस्तावित चार राजदूतको सुनुवाइ


काठमाडौं । समितिको आजको बैठकमा इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरुलाई सुनुवाइका लागि बोलाइएको छ ।

इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूत नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । समितिमा तिमिल्सिना र पण्डितविरुद्ध उजुरी परेको छ ।

समितिका सदस्यहरुले उजुरीहरुमाथि प्रश्न गर्ने र जवाफ तथा कार्ययोजनाबारे छलफल गर्ने तयारी छ । सरकारले गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरुको नाम मात्र समितिमा पुगेको थियो ।

प्राप्त नामावली अनुसार संसदीय सुनुवाइ समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको हो । प्रस्तावित सबै राजदूतहरुको सुनुवाइ आठ दिनभित्र सम्पन्न गर्ने योजना छ ।

सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।