Breaking

रविलाई गगनको जवाफ : संलग्नताको प्रमाण छानबिन समितिमा पुगिसक्यो, फैसला आउने दिन औला भाँचेर गनौं

योहो संवाददाता

काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताको प्रमाण संसदीय छानबिन समितिलाई दिइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोलेका सांसद थापाले प्रमाण खोइ भनेर धेरै प्रश्न आएको स्मरण गरे । उनले प्रतिपश्न गरे, ‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ?’ उनले अगाडि भने, ‘यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला ।’

आफूलाई समितिमाथि पूर्ण विश्वास रहेको महामन्त्री थापाले बताए । ‘बरु रास्वपपाका साथीहरु झुक्किनु भयो कि भन्ने लागेको छ’, उनले अगाडि भने, ‘बयान हो, बयान । सफाइ होइन ।’
‘फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसेको छु । तथ्य प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिरहेको छु’, उनले भने ।
बरु समितिमा रहेका रास्वपाका सदस्यलाई अप्ठ्यारो पर्नसक्ने उनले बताए । ‘किनकी कालोलाई सेतो कसरी भन्नु ? कालोलाई कालै भन्नुपर्ला । अलिअलि मैलो भएपनि कालै भन्नुपर्ने अवस्था आउँछ होला’, महामन्त्री थापाले भने, ‘त्यसैले दिन गनौं, राम्रोसँग गनौं । औला भाँचेर गनौं, लेखेर गनौं । फैसला आउने दिन गनौं ।’