काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज भेटवार्ता गरेकाछन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवम् विकास सहायता तथा आयोजनाहरू लगायतबारे छलफल भएको थियो ।
वार्ताका क्रममा मन्त्री डा. राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत् भारत सरकारसँग कुरा उठाइन् । नेपालले खासगरी भैरहवा र पोखरा विमानस्थल नियमित सञ्चालनमा हवाई रुटको चुनौती भोगिरहेको छ ।
यस्तै यसअघि सचिव मिश्री र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । आज बिहान शहरी विकास मन्त्रालयमा भएको भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिए ।
भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ ।
प्रतिक्रिया